
वैशाख ३१,२०७९ गुल्मी : गुल्मीका धुर्कोट र रुरुक्षेत्र गाउँपालिकामा बिवादका कारण रोकिएको मतगणना कार्य सुरु हुने भएको छ ।
धुर्कोट गाउँपालिका वडा नम्वर ४ मा कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार माथी माओवादी समर्थक कार्यकर्ताले आक्रमण गरेपछी बिवाद चुलिएको थियो ।
कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार गोपाल थापा सहित अन्य दुई जना घाइते छन् । शुक्रबार मतदान सकिएपछी माओवादी समर्थक कार्यकर्ताले थापा माथि आक्रमण गरेका थिए । सर्वदलिय बैठकबाट साँझ ८ बजेबाट मतगणना गर्ने सहमति भएको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन् ।
धुर्कोटमा नेकपा एमाले र माओबादी बीच गठबन्धन रहेको छ भने नेपाली कांग्रेस र एकीकृत समाजबादी बीच तालमेल भएको छ ।

एमाले र माओवादीबाट माओवादीका भुपाल पोखरेल, कांग्रेस र समाजवादीबाट कांग्रेसका महेन्द्र भण्डारी अधयक्षको चुनावी मैदानमा छन् ।
यस्तै रुरुक्षेत्र गाउँपालिकामा पनि मतगणनाको कार्य अहिले ७ बजे पछीबाट सुरु गर्ने सहमति भएको छ । शुक्रबार मतदान सकिएपछि कांग्रेस माओबादीको गठबन्धनका कार्यकर्ताले एमालेका राजु ज्ञवालीलाई कुटपिट गरेपछि मतगणनाको कार्य सुुरु हुन सकेको थिएन् ।
सर्वदलिय बैठकमा मतगणना कार्यलाई अगाडी बढाउने सहमति भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
घटनामा संलग्न रहेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।







