रेसुंगामा पाण्डे र पन्थीको कडा टक्कर

0
216

वैशाख २७ ,२०७९ गुल्मीः यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रेसुंगा नगरपालिकामा कांगेस र एमालेको कडा टक्कर हुने भएको छ ।
जिल्लाको सदरमुकाम तम्घास पनि भएकाले जिल्लाको समग्र राजनीतिलाई रेसुंगासंग तुलना गरेर हेर्ने गरिन्छ ।
यस निर्वाचनमा नेपाली कांग्रेसका जिल्ला सभापति खिलध्वज पन्थी र नेकपा एमालेबाट राजेन्द्र प्रसाद पाण्डे यहाँको चुनावी मैदानमा छन् ।
दुबै जनाले मेयर पद जित्ने बलिया आधारहरु भएको भन्दै आ आफूले निर्वाचन जित्ने दाबी गर्दै आएका छन्

एमालेका राजेन्द्र पाण्डेले यहाँका स्थानीयहरुको इच्छा ,चाहाना र माग अनुसार नै आफू मेयर पदको उम्मेदवार बनेको बताए ।
स्थानीय तहको निर्वाचनमा जनताले पार्टी भन्दा पनि ब्यक्ति रोज्ने भएकाले यहाँको जनता र स्थानीयहरुमा आफू लोकप्रिय भएको दाबी गरे ।
रेसुंगा नगरको बिकासका निम्ति आफूसंग धेरै योजनाहरु रहेको दाबी गर्दै उहाँले अल्पकालीन र दीर्घकालिन योजनाहरु बनाएर अगाडी बढ्ने उनकोे योजना छ ।

यहाँको बसाइँ सराइँलाई कम गर्नका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिइने उनको दाबी छ ।
यस्तै रेसुंगालाई पर्यटनसंग जोडेर धेरै आयआर्जनका कामहरु गर्न सकिने पनि उनको योजना छ ।
यता नेपाली कांग्रेसका खिलध्वज पन्थीले रेसुंगामा कांग्रेसको संगठन बलियो भएकाले आफूले जित्ने पहिलो आधारनै यहि भएको बताए ।
आफू यहाँका स्थानीयहरुसंग सधै सुख ,दुःखमा साथमा रहेको र बिकास निर्माणमा समेत भूमिका भएकाले निर्वाचन जित्नेमा कुनै शंका नरहेको उनकोे दाबी छ ।
जनताको दैनिकीसंग र जनजीविकासंग पनि आफू नजिक भएकाले यहाँको बिकासका लागि पनि खिलध्वज बाहेकको विकल्प नभएको बताए ।
युवा शक्तिलाई स्वदेशमानै टिकाई राख्नका लागी ब्यबसायीक कृषि,पशुपालन र लघु उद्योगहरुको स्थापना गर्ने, रेसुंंगालाई सात रङको इन्द्रेणी जस्तै सुन्दर शान्त र मनमोहक बनाइने , स्वास्थ्य शिक्षा,पर्यटनलाई प्राथमिकताका साथ लगिने उनको दाबी छ ।
२०७४ सालको निर्वाचनमा तत्कालिन नेपाली कांग्रेसको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ र एमालेका डिल्लीराज भुसालबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतिस्पर्धामा भुसालले श्रेष्ठलाई पराजित गरेका थिए ।
रेसुंगामा २३ हजार ५३१ मतदाता संख्या रहेको छ भने १५ वटा मतदान स्थल रहेको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

SHARE