
बैशाख ३,२०७८ गुल्मीः गुल्मीमा सामाजिक सुरक्षा भत्ता देखि राजश्व चुहावटमा भएको अनियमितता उजुरी अख्तियारमा परेका छन् ।
गुल्मीबाट यस आर्थिक वर्षमा भ्रष्टाचारका कुल २९ वटा उजुरी अख्तियारमा परेका छन् । जिल्लाका ८ स्थानीय तहबाट आर्थिक वर्ष २०७८÷०७९ मा कुल २९ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका बुटवलका अनुसार सार्वजनिक खरिद र निर्माण, उपभोक्ता समिति, प्रशासनिक कार्य, तालिम र क्षमता विकास, सेवा प्रवाह, सार्वजनिक जग्गाको अतिक्रमण, नक्कली प्रमाणपत्र र लाइसेन्स, विद्यालय दिवा खाजा, कृषि क्षेत्र, बिषयगत क्षेत्र, सामाजिक सुरक्षा भत्ता र राजस्व चुहावट लगायतका बिषयमा भ्रष्टाचार भएको भन्दै स्थानीय तहबाट उजुरी परेका हुन् ।

गुल्मीबाट यस आर्थिक वर्षमा कुल २९ भ्रष्टाचारका उजुरी परेका मध्ये सबैभन्दा बढी धुर्काेट गाउँपालिकाका उजुरी परेका छन् । धुर्काेट गाउँपालिकाबाट यस आर्थिक वर्षको आठ महिनामा ११ वटा उजुरी परिसकेका छन् ।
त्यस्तै जिल्लाको छत्रकोट गाउँपालिकाका आठ वटा भ्रष्टाचारका उजुरी परेका छन् । मुसिकोट नगरपालिकाका तीन वटा, रेसुङगा नगरपालिकाका दूई वटा, रूरूक्षेत्र गाउँपालिकाका दूई वटा, मदाने गाउँपालिका, चन्द्रकोट गाउँपालिका र इस्मा गाउँपालिकाका एक एक वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा परेका छन् ।
जिल्लाका चार स्थानीय तहबाट भने यस आर्थिक वर्षमा भ्रष्टाचारका कुनै उजुरी अख्तियारमा परेका छैनन् ।
कालीगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, मालिका गाउँपालिका र गुल्मीदरबार गाउँपालिकाबाट उजुरी नपरेको अख्तियारले जनाएको छ । जिल्लाका स्थानीय तहबाट परेका कुल २९ उजुरी मध्ये १८ वटा उजुरी फछ्र्यौट भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
धुर्काेट गाउँपालिकाका सात वटा, छत्रकोट गाउँपालिकाका सात वटा, मुसिकोट नगरपालिकाका तीन वटा र इस्मा गाउँपालिकाको एक वटा उजुरी फछ्र्यौट भइसकेका हुन् । परेका उजुरी मध्ये अझै ११ वटा उजुरी फछ्र्यौट हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।






