तम्घासका मुख्य सडकमै भुस्याहा कुकुरको आतंक

0
468

तिलाचन पाण्डे
पुस ९,२०७८ गुल्मी : सदरमुकाम तम्घासका मुख्य सडकमै भुस्याहा कुकुरको आतंक दिनानुदिन बढ्दै गएको छ ।

तम्घासका मुख्य सडकमा समुहमा भुस्याहा कुकुरहरु हिड्दा सवारी चलाउने चालकहरुलाई समस्या हुने र दुर्घटना हुन सक्ने जोखिम बढ्दै गएको सवारी चालक र सवारी धनीहरुले गुनासो गरेका छन् ।

भुस्याहा कुकुरहरुको सडकमा दैनिक आतंक भइरहँदा यसलाई समाधान गर्ने रेसुंगा नगरपालिकाले भने कुनै वास्था गरेको पाइदैन् ।
सडकमा भुस्याहा कुकुरहरुको आतंक हुँदा यसलाई रोकथाममा स्थानीय सरकार र प्रशासनले कुनै चासो नदेखाउनु दुःखद भएको तम्घासका ब्यबसायी कृष्ण खनालले बताए ।

बिहानको समयमा सडकमा कुकुरहरु हिड्दा डरका कारण बिद्यार्थीहरुले बिद्यालयमा जान नमान्ने र रातको समयमा कुुकुरहरु भुक्दा आरामसंग सुत्न नपाएको खनालले दुखेसो पोखे

यता नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले भुस्याहा कुकुरको आतंकलाई स्थानीय तहले निराकरण गर्नुपर्ने बताए । उनले भुस्याहा कुकुरको सडक आतंकले दुर्घटना निम्त्याउने भन्दै समयमै सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिए ।

यता रेसुंगा नगरपालिकका नगरप्रमुख डिल्लीराज भुसालले भुस्याहा कुकुरहरुको ब्यबस्थापन गर्नका लागि आफू लागेको बताए । कुकुरलाई मार्नका निम्ती कानूनले बन्देज गरेकाले अन्य उपायहरुको बारेमा आफूले योजना बनाएको भुसालको दाबी छ ।
कुकुरहरुलाई भ्याक्सिन लगाउने लगायतका कार्यहरुलाई अगाडी बढाएको भन्दै त्यी कुकुरहरुको ब्यबस्थापन गर्न जति सक्दो छिटो आफू लाग्ने भुसालले बताए ।
यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले नगरपालिकासंग समन्वय गरेर अगाडी बढने बताए ।

SHARE