लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान इस्मामा भव्य बन्यो

0
254

मंसिर २५,२०७८ गुल्मीः इस्मा गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सकिएको छ ।

इस्मा गाउँपालिका ५ को इस्मा रजस्थलको आनन्दपुर माविमा बृहत कार्यक्रमको आयोजना गरेर जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले अभियानको समापन गरे ।
अभियानको समापन गर्दै पराजुलीले परिवारहरुकै सोेचमा परिवर्तन आए मात्रै लैङ्गिक हिंसाको अन्त्य गर्न सकिने बताए । उनले समुदाय र मुलुक परिवर्तन गर्न पहिले आफु र आफ्नो सोचमा क्रान्ति गर्न आवश्यक भएको बताए ।

स्थानीय तहपछि स्थानीय तहमा महिला शसक्तिकरणको क्षेत्रमा थुप्रै उदाहरणीय काम भएकाले इच्छाशक्ति र सवैको सहयोग भए लैङ्गिक हिंसाको अन्त्य गर्न कुनै समस्या नरहेको पराजुलीको भनाई रहेको थियो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले १२ स्थानीय तह मध्ये इस्माले सवै वडासंगै गाउँपालिका स्तरमा पनि अब्बल कार्यक्रम मार्फत अभियानको समापन गरेको भन्दै प्रसंसा गरे ।

कार्यक्रमहरुले आम नागरिकमा केहि न केहि भए पनि परिवर्तन आउने भएकाले सक्रियता महत्वपूर्ण बिषय भएको बताए । गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले पुर्वाधारलाई मात्रे विकास देख्ने सामाजिक सोचका कारण आफुहरुले पनि सामाजिक विकासका थुप्र्रै काम गर्न बाँकी रहेको बताए ।

उनले आफुहरुले महिलाहरुलाई विभिन्न अभियान र उद्यम मार्फत उत्साहित र सक्रिय बनाएकाले थप योजना मार्फत लैङ्गिक हिंसाको अन्त्यका कामहरु सुरुवात गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले समुदाय बाहिर देखे जस्तो वास्तवमा नभएको बताउँदै प्रत्येक परिवारमा कुनै न कुनै हिंसा रहेको बताए । ‘परिवार भित्रका सवै हिंसा न्यायीक निकायसम्म निकै कम आएका छन् । समुदायका अनेक सोचले पीडित खुल्न सक्दैनन,’उनले भने,‘व्यक्ति र परिवार सचेत गराउनु र बन्नु आवश्यक पर्छ ।’ उनले प्रहरी र प्रशासनको ढोका आउने पीडितले अन्याय झेल्नु नपर्ने प्रतिवद्धता जनाए ।

गाउँपालिका उपप्रमुख बिमला खत्रीले अझै पनि पुरुषबादी चिन्तनले प्रत्यक्ष वा परोक्ष कार्यक्रम र अभियानमा असहयोग भइरहेको गुनासो गरिन् । महिलासंग सम्बन्धित कार्यक्रमहरुमा पुरुषले सहयोगसम्म नगर्ने गरेको स्थितीमा अवसर दिने कुरा निकै टाढाको बिषय भएको खत्रीले बताइन् ।

साथै उनले लैङ्गिक हिंसा बिरुद्धको अभियानको बारेमा जानकारी दिएकी थिइन् । राजनैतिक दलहरुको तर्फबाट एमाले गाउँपालिका अध्यक्ष राजेन्द्रबिक्रम कुवंर र कांग्रेस सचिव बैकुण्ठ बहादुर कुवंरले अझै पनि मान्छेले मान्छेकै व्याबहार गर्न नसक्नु बिडम्बना भएको बताए । उनीहरुले थुप्रै व्यावस्थाका बिरुद्धका आन्दोलनबाट गणतन्त्र र संविधान प्राप्त भएपनि सामाजिक संरचनाभित्र रहेका दुर्गन्धित सोचहरुको अन्त्य गर्न नसकिएको बताए ।
महिला अधिकारकर्मी हीरा कुवंरले गाउँपालिकाले वडास्तरदेखि पालिकासम्म सचेतनामूलक अभियान संचालन गरेको बताइन् । उनले अझै पनि आर्थिक सामाजिक रुपान्तरणका थुप्रै काम बाँकी भएकाले योजनावद्ध काम अगाडी बढाउनुपर्ने बताइन् ।

गाउँपालिकाले प्रत्येक वडामा सचेतनामूलक कार्यक्रम गरेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयको तर्फबाट लैङ्गिक हिंसा, जिल्लामा लैङ्गिक हिंसाको अवस्था र कानुनमा भएको व्यवस्थाको बारेमा सचेतना प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज सुवेदीले जानकारी दिए ।
कार्यक्रम मञ्चिय भएपनि अभिभावक र बिद्यार्थीहरुलाई सहभागी बनाएर सवै वडाहरुमा सचेतना प्रदान गरिएको भण्डारीले बताए ।
कार्यक्रममा विभिन्न बिद्यालयहरुले सडक नाटक, वक्तृत्वकला, नृत्य, कविता लगायतका सचेतनामूलक सांगितीक प्रस्तुती राखेका थिए ।
कार्यक्रम गाउँपालिका प्रमुख लक्ष्मण बिष्टको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत नवराज सुवेदीको स्वागत तथा प्रशासन शाखा प्रमुख हिमाल घर्तिको संचालनमा सम्पन्न भएको थियो ।

SHARE