राष्ट्रिय भूमि आयोगको अध्यक्षमा केशव निरौला

0
401

भदौ३०,२०७८काठमाडौं : सरकारले भूमि आयोग गठन गरेको छ। सरकारले आयोगको अध्यक्षमा नेपाली कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौलालाई नियुक्त गरेको छ।

यसअघि उनी कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य थिए। मोरङको कानेपोखरी गाउँपालिकाका निरौला कांग्रेस महासमिति सदस्य हुन्।

आयोगको उपाध्यक्षमा भने सरकारले माओवादी समर्थक मीनेन्द्र खड्कालाई नियुक्त गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका अध्यक्ष निरौलालाई पद तथा गोपनीयताको शपथ गराए। आजै आयोगका उपाध्यक्ष खड्काले पनि पदको शपथ लिएको प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीले जानकारी दिए।

गृह मन्त्रालय स्रोतका अनुसार आयोगमा अझै ३ विषयविज्ञ र २ सदस्य नियुक्त गर्न बाँकी नै छ। सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट बाँकी नियुक्ति गरिने सम्भावना छ।

मन्त्रिपरिषदको मंगलबारको बैठकले भूमि आयोग गठन र अध्यक्षमा निरौला तथा उपाध्यक्षमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेको थियो। आयोगमा ७ प्रदेशबाट १र१ जना सदस्य र संघीय सरकारले तोकेको सहसचिव सदस्यसचिव रहने प्रावधान छ।

SHARE