अखिल क्रान्तिकारी धुर्कोटको सम्मेलन सम्पन्न, अध्यक्षमा पोख्रेल सर्वसम्मत

0
383

गुल्मी, १३ भदौ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को प्रथम धुर्कोट गाउँ सम्मेलन शनिबार सम्पन्न भएको छ ।
सम्मेलनले इन्द्र पोख्रेलको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटीको गठन गरेको छ । जसको उपाध्यक्षमा समिक्षा भण्डारी, सचिवमा सम्झना पोखरेल, सह–सचिवमा सरोज थापा, प्रविन कुँवर र सन्तोष पन्थी, कोषाध्यक्षमा विप्लप विक तथा सह–कोषाध्यक्षमा अजय पोखरेल लगायत अन्य सदस्यहरु रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माओवादी केन्द्र गुल्मीका अध्यक्ष विर बहादुर कार्कीले माओवादी केन्द्र सधैभरी विद्यार्थी आन्दोलनको पक्षमा रहेको बताए । असमान शिक्षाको अन्त्य, शिक्षाको ग्यारेन्टी राज्यले लिनुपर्ने, स्वरोजगारयुक्त शिक्षा लगायतका एजेण्डा माओवादी केन्द्रले उठाएको भन्दै उक्त एजेन्डाहरुलाई पुरा गर्नुपर्ने बताए । विशेष अतिथि माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य निम बहादुर पाण्डेले निवर्तमान प्रधानमन्त्री केपी ओलीले दुई पटकसम्म संसद विघटन गरेका कारण विद्यार्थी आन्दोलन कमजोर बनेको आरोप लगाए ।
धुर्कोट गाउँपालिका अध्यक्ष एवम् पार्टीका जिल्ला कार्यालय सदस्य भुपाल पोखरेलले शिक्षाको क्षेत्रमा गाउँपालिकाले उल्लेख्य नीति तथा कार्यक्रम ल्याएको भन्दै सबै विद्यार्थीहरुलाई अनेरास्ववियु क्रान्तिकारीमा गोलबन्द हुन आग्रह गरे ।
कार्यक्रममा अनेरास्ववियुका जिल्ला संयोजक भरत चन्द, पूर्व अध्यक्ष महेन्द्र विसी, श्रृङ्गेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति किसन पाण्डे, जिल्ला सचिवालय सदस्य बालेन श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम अनेरास्ववियु (क्रान्तिकारी) क्षेत्र नम्बर २ का संयोजक राजन केसीको अध्यक्षता तथा क्षेत्र नम्बर २ का सह–संयोजक रमेश पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

SHARE