फुल्लेल दम्पतीद्वारा तुलादानको रकम रेसुङा गौशालालाई प्रदान

0
447

टोपलाल अर्याल, गुल्मी कार्तिक २७।
मान्छे भाग्यले चौरासी बर्ष पुग्छन् । ठुलो खुसी हुन्छ । त्यहि खुसीमा सक्नेले चौरासी पुजा गर्छन । आफन्त र इष्टमित्र बोलाएर दान दिने तथा भोज भतेर गर्ने प्रचलन छ । चौरासी पुजामा तुला चढ्ने अर्को अचम्मको परम्परा हिन्दु संस्कार रहेको छ ।

आफ्नो तौल बराबर सुन वा पैसा दान गर्नको लागि तुला दान गर्ने गरिएको छ । धेरैले त्यो तुलादानको पैसा आफन्त र इष्टमित्रलाई टिका लगाएर दिने गरेका छन् । तर अर्घाखाँची छत्रदेव गाउँपालिका ८ खसकोटका एक दम्पतीले तुलादानको पैसा समाज सेवामा खर्च गर्ने भएका छन् ।

खसकोटका शिवलाल फुल्लेल र कमला फुल्लेलले रेसुङ्गा गौशलाको व्यावस्थापनको निम्ती तुलादानको पैसा खर्च गर्ने निर्णय गरेको नाति सुरज पोख्रेलले जानकारी दिए । फुल्लेल दम्पतीले कार्तिक २६ गते चौरासी पुजा गरेका छन् । सोहि अवसरमा आफ्नो तौल बराबरको २३ हजार सात सय रुपैयाँ रेसुङ्गा गौशाला संरक्षण समितिलाई प्रदान गर्ने निर्णय
गरेको पोख्रेलले बताए ।

त्यो रकम रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई मंगलबार फुल्लेल दम्पतीले घरमै हस्तान्तरण गरेका छन् । अहिले गौशालाको नाममा अक्षयकोष स्थापना गरेर रकम राख्ने र पछि रकम थप गदै लैजाने छोरा दिनेश फुल्लेलले बताए ।

अक्षयकोषको व्याजबाट गाईहरुलाई दाना पानी तथा अन्य व्यावस्थापन गरिने फुल्लेलले बताए । रकम बुझ्दै मेयर भुसालले यो काम सामाजिक हितमा भएकाले फुल्लेल दम्पतीको दिर्घ जीवनको शुभकामना व्यक्त गरे ।

उनले यो परिवारले जस्तै सवैले सामाजिक भावान देखाउनुपर्नेमा जोड दिए । चौरासी पुगेका फुल्लेल दम्पतीका एक छोरा र दुई छोरी रहेका छन् ।

SHARE