जीप दुर्घटनामा दुई जनाको मृत्यु

0
204

साउन २७,२०७८धनगढी : कैलालीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

भासु भिरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। यस्तै नेपाली सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार चुरे गाउँपालिका–३ भासु भिरमा प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरको जीप दुर्घटना हुँदा चुरे गाउँपालिका– ६ की ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिका–१ की ५ वर्षीया एलिसा खड्काको मृत्यु भएको हो।

यस्तै दुर्घटनामा जोरायल–१ का जीप चालक रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र चुरे–६ का सुशिल साउद घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार सडकबाट जीप झण्डै तीन सय मिटर तल खसेको छ। धनगढीबाट डोटीको गैरा गइरहेको जीप दुर्घटनामा परेको हो। जीपमा पाँच जना सवार थिए।

यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–८ स्याउले बजारमा सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका हुन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सेनाको प्रदेश ३–०१ ००१ ग ३७३२ नम्बरको ट्रकले म २ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। घाइतेको अवस्था गम्भीर रहेको र उनीहरुको पदमा अस्पतालमा उपचार भइरहेको छ।

SHARE