लुम्बिनीमा पनि बाढीको उच्च जोखीम ,नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

0
612
फाइल फोटो

असार५,२०७८ काठमाडौं :मनसुनी वायुका कारण देशभर वर्षा भइरहेको छ। आज प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, कर्णाली र महाकाली नदीको बहाव बढ्ने छ। त्यस क्षेत्रका सतर्क रहन आग्रह गरेको छ। यस्तै, यसका सहायक नदीहरुमा पनि पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ। कनकाई, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा पानीको बहाव बढ्ने भएकाले यस क्षेत्रका बासिन्दाहरु पनि सतर्क रहन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर र संखुवासभामा बाढीको मध्यम जोखिम रहेका छ। यस्तै, प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाहीमा पनि बाढीको जोखिम मध्यम नै रहेको छ।

बागमती प्रदेशको दोलखा, रामेछाप, रसुवा र सिन्धुपाल्चोक बाढीको जोखिम उच्च रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशको गोरखा, मनाङ, पर्वत, बाग्लुङ, म्याग्दी, नवलपुरमा उच्च जोखिम रहेको छ भने लमजुङ, कास्की, तनहुँ र स्याङ्जामा मध्यम जोखिम रहेको छ।

लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, पाल्पा, दैलेखमा उच्च जोखिम छ। कर्णाली प्रदेशको दैलेख, जाजरकोट, कालीकोट, जुम्लामा उच्च जोखिम रहेको छ भने सुर्खेत र सल्यानमा मध्यम जोखिम रहेको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, बाजुरा, बझाङ, दार्चुलामा उच्च जोखिम रहेको छ। डडेल्धुरा, बैतडी, डोटी र अछाममा बाढीको मध्यम जोखिम रहेको छ।

SHARE