२८ गतेको निर्णय फिर्ता लिनुपर्ने नेपाल पक्षको अडान

0
401

चैत २ गते
काठमाडौं वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा गरेको निर्णय फिर्ता लिनुपर्ने अडान राखेको छ।

पार्टीभित्रको विवाद समाधानका लागि पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार बसेको दुवै पक्षको वार्तामा नेपाल समूहले यस्तो अडान राखेको हो। बैठकमा प्रधानमन्त्री ओलीले पनि आफ्नो अडान नछाडेको बैठकपछि नेता नेपाल पक्षका नेता रघुजी पन्तले बताए।

‘वार्ता सकारात्मक भएको छ। सबैले सबैको कुरा सुनेका छौँ,’ उनले भने, ‘आजबाट वार्ता सुरु भएको छ। शीर्ष नेताहरुबीच सबैले कुराकानी गरेर निष्कर्ष निकाल्नुपर्छ।’ बैठकमा आफूहरुले ओलीले फागुन २८ गते एकलौटी गरेको निर्णय स्वीकार नगर्ने नेता पन्तले बताए। उनले भने, ‘२८ गतेको बैठक हामीलाई थाहा छैन। त्यसैले त्यो बैठक पार्टीको विधि र विधान विपरीत छ। त्यसैले हामीले मान्दैनौँ।’

शुक्रबार बसेको ओली पक्षको बैठकले नेपाल(खनाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै माओवादी केन्द्रबाट एमालेमा आएका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो। ओली समूहले चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

त्यसलाई रोक्नका लागि नेपाल(खनाल समूहले निर्वाचन आयोगमा पुगेर पत्रसमेत बुझाइसकेको छ। ओलीले एकलौटी रुपमा चल्न खोजेपछि यो समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ भने चैत ३ गते वामदेव नेतृत्वको एकता अभियानले अर्को भेला बोलाएको छ।

आइतबार प्रधानमन्त्री ओलीले शितल निवासमा पुगेर राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गरेका थिए। राष्ट्रपति सँगको भेटवार्तापछि ओली नेपाल बीच वार्ता गर्ने सहमति बनेको हो। थाहाबाट

SHARE