तिलाचन पाण्डे
फागुन २९,२०७७ गुल्मी : गुल्मीमा नागरिकहरुको सुरक्षामा दिन रात खटिने प्रहरीहरु नै आफँै असुरक्षित स्थानमा बस्न बाध्य छन् । उनीहरु बस्ने स्थान नै सुरक्षित छैनन् । कँही पानी चुहिने टिनको छानामुनी बस्न बाध्य छन् त कुनै भुकम्पले भत्काएका र चर्किएका घरमा ।
इस्मा गाउँपालिका १ हस्तिचौरमा रहेको हस्तिचौर प्रहरी चौकीले २०७२ सालबाट स्वाबलम्बन बचत तथा क्रृण सहकारी संस्थाको जिर्ण भवनबाट कार्यसम्पादन गरिरहेको छ । नजिकै चौकीको नाममा जग्गा प्राप्त भएको छ । अहिलेसम्म अाँफुहरुले भाडा भने तिर्नु नपरेको चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक बिष्णु बहादुर गाहाले जानकारी दिए ।
कालीगण्डकी गाउँपालिका ७ को भुर्तुङ प्रहरीचौकी हिराध्वज शाहाको कच्ची घरमा भाडा तिरेर बसेको बर्षौ भए । भुकम्पले चर्किएको भवन छ । चौकीलाई तत्कालिन गाविस हुँदै प्राप्त भएको जग्गा छ । तर, त्यहाँ पनि भवन निर्माणको कुनै पहल नभएको चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक दुहुना थारुले बताए ।
भूकम्पले चिरा चिरा पारेको घरमा पुर्तिघाट प्रहरी चौकी
यस्तै कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटमा रहेको प्रहरी चौकीको पनि अबस्था दयनिय छ । २०७२ सालमा आएको भूकम्पका कारण डिला ढकालको घरमा भाडामा बस्दै आएको प्रहरी चौकीको घर चिरा चिरा भएको छ । भूकम्पका कारण रातो कार्ड पाएको र घरमा बस्न योग्य नभएको भए पनि सोही घरमा बसेर सेवा दिन बाध्य भएको चौकीका इन्चार्ज हरिकिसन पुनले बताए ।
हावाहुरी आउँदा र पानी पर्दा राम्रो संग निद्रा नपर्ने र रातभर जाग्राम बस्नुपर्ने बाध्यता भएको पुनको गुनासो छ ।
चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरमा ‘ख’ श्रेणीको इलाका प्रहरी कार्यलय छ । जुन द्धन्दपछि स्थानीय टेक बहादुर पौडेलको पुरानो घरमा बस्दै आएको छ । अहिले भवन निर्माणको लागि ठेक्का भएकाले नयाँ आशा थपिएको चन्द्रकोट इलाका प्रहरीचौकी इन्चार्ज प्रहरी नायव निरीक्षक पदम शाहीले बताए ।
अर्खाबाङ प्रहरीचौकी मालिका गाउँपालिका ४ का हिमाल केसीको कच्ची घरमा ०७५ सालदेखि बस्दै आएको छ । उसको पनि अबस्था अन्यको जस्तै पीडादायी छ ।
जिल्लाकै ट्राफिक प्रहरी कार्र्यालयको पनि आफ्नै भवन छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आफ्नै जग्गा र भवन केहि पनि छैन । अहिलेसम्म चार स्थानमा कार्यालय सारेर अस्थायी रुपमा बसिरहेको ट्राफिक प्रहरी कार्यालय गुल्मीेले जनाएको छ ।
समस्या समाधान गर्नका लागि निरन्तर प्रयासमा छौ : एसपी
यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक(एसपी)गोपालचन्द्र भट्राइले तत्काल जिल्ला स्तरबाट हुने चौकीका समस्याहरुलाई समाधान गर्ने गरी आँफू लागेको बताए । चौकीमा पानी चुहिने , भाँडाकुँडाहरु नभएका जस्ता समस्यालाई तत्काल समाधान गर्ने र भवनहरु निर्माणका लागि केन्द्रसंग निरन्तर रुपमा प्रयास जारी राख्ने बताए ।
आँफू जिल्लामा भर्खर मात्रै आएकाले सबै स्थानका बारेमा जानकारी पनि नभएको बताउँदै चौकी इन्चार्जहरुसंग समस्याहरुको बारेमा जानकारी लिने र समाधान गर्ने तर्फ लाग्ने उनको भनाई छ ।
शान्ति सुरक्षा दिने प्रहरीनै भौतिक संरचनाका दृष्टिले असुरक्षित छ । जिल्लाको गाउँगाउँका प्रहरी चौकीहरुको आफ्नै भवन नहुँदा कार्यसम्पादनमा असर परेको छ । गुल्मीमा अहिले जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाहेक चार इलाका र १४ स्थायी र एक अस्थायी प्रहरी चौकी रहेका छन् । जसमध्ये ७ वटा प्रहरीचौकीको आफ्नै भवन छैन । पौदीअमराई, मजुवा र खज्र्याङ लगायतका चार प्रहरीचौकी अरु सरकारी कार्यालयका भवनमा बस्दै आएका छन् ।