कृषकको बगैचामा गई बगैचा सुदृढीकरण बारे सिकाउँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

0
370

तिलाचन पाण्डे
फागुन २५,२०७७ गुल्मी : कालीगण्डकी गाउँपालिका वडा नम्वर तीन लम्सराङका ६४ बर्षका ओमप्रसाद घर्तीको सुन्तला बगैचामा करिब पाँच सय बिरुवा छन् । त्यी मध्ये एक सय भन्दा धेरै बिरुवाहरुले उत्पादन दिन थालेका छन् ।
घर्तीलाई बगैचा कसरी ब्यबस्थापन गर्ने भन्ने बारेमा थाहा थिएन् । पुरानै शैलीमा बिरुवा लगाएको र बगैचा सुदृढीकरणमा यस अघि आँफूले ध्यान नदिएको उहाँ बताउनुहुन्छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , कार्यन्वयन इकाई गुल्मीले कृषकको बगैचामा गई कसरी बगैचा सुदृढीकरण गर्ने भन्ने बारेमा प्रयोगात्मक तरिकाबाट जानकारी गराए पश्चात आँफूहरुलाई धेरै ज्ञान हासिल भएको उहाँको भनाई छ ।
यस्तै सोही स्थानकी ४८ बर्षकी रेनु श्रीसको बगैचामा पनि करिब दूई सय २० बिरुवा छन् । उहाँलाई पनि कुन समयमा बिरुवा काटछाँट गर्ने , मलजलराख्ने भन्ने बारेमा थाहा थिएन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बगैचामै आई बिरुवा काटछाँट गर्ने , मलजल गर्ने तरिका र निलो तुथो लगायतका बिषादी राख्ने बारेमा जानकारी पाएपछि केही आशा पलाएको उहाँ बताउनुहुन्छ । उहाँहरुले आँफूहरुलाई अझै लामो समयको सीप र तालिम आवश्यक रहेको बताउँदै आउनुभएको छ ।
यता प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई गुल्मीका बरिष्ठ कृषि अधिकृत नारायण काफलेले यो समय फलफूलका बिरुवाहरुमा मल जल संगै बगैचा सुदृढीकरण गर्ने समय भएको बताउनुभयो ।
कृषकहरुलाई उनीहरुको बगैचामा नै गई बिरुवा काटछाँट संगै मलजल गर्ने तरिका र बिषादी प्रयोग बारे प्रयोगात्मक तरिकाबाट जानकारी गराउँदा प्रभाबकारी हुने भएकाले आँफूहरुले यस्तो अभियान चालेको उहाँले दाबी छ ।
जिल्लाका ८ स्थानीय तहहरु मुसिकोट ,रेसुङगा नगरपालिका ,धुर्कोट,मदाने ,गुल्मीदरवार,छकोट,चन्द्रकोट र कालीगण्डकी गाउँपालिकाका २४ वटा वडाहरुमा यसरी बगैचा सुदृढीकरणको अभियान नै संचालन गरिएको कार्यालयले जनाएको छ । जिल्लामा कूल ८८८ हेक्टर जमिनमा सुन्तला खेती हुँदै आएको छ ।
यस बर्ष ४० प्रतिशत सुन्तला उत्पादनमा कमी
गुल्मीमा यस बर्ष अघिल्लो बर्ष भन्दा ४० प्रतिशत सुन्तला उत्पादनमा कमी आउँने अनुमान गरिएको कार्यालयले जनाएको छ । अघिल्लो बर्ष सात हजार २२ मेट्रिक टन उत्पादन भएकोमा यस बर्ष झण्डै ४० प्रतिशत सुन्तला उत्पादनमा कमि आउँने अनुमान गरिएको काफलेले जानकारी दिनुभयो ।
गत बैशाखमा असिनाले फूल र दाना झारिदिएकाले उत्पादनमा कमी आएको काफलेको दाबी छ । अझै पनि कृषकहरुको सुन्तला बोटमा रहेको र टिप्न बाँकी रहेकाले फागुन महिनाको अन्तिमसम्म वास्तबिक विवरण आउँने कार्यालयले जनाएको छ ।

SHARE