
फागुन २०,०७७ पाल्पा :लामो समयदेखि पत्रकारिता क्षेत्रमा आबद्ध पाल्पा रामपुरका दुई पत्रकार सम्मानित भएका छन् ।
कालिका आधारभुत विद्यालय रामपुर नगरपालिका वडा नं ४ देविस्थान पाल्पाको विद्यालय स्थापनाको ३३ औ वार्षिकोत्सव तथा ३३ औ अभिभावक दिवसको अवसरमा पत्रकार सुशीला रेग्मी र इमान सिं रानालाई सम्मान गरिएको छ । पत्रकार द्धय रेग्मी र रानाले पत्रकारिताको माध्यमबाट विद्यालयमा पु¥याएको योगदानको कदर गर्दै सम्मान पत्र र पाल्पाली करुवाले सम्मान गरिएको हो ।
राष्ट्रिय समाचार समिति (रासस), सामुदायिक रेडियो रामपुर लगायत विभिन्न छापा तथा अनलाइन संचार माध्यममा कार्यरत पत्रकार रेग्मीले बिगत एक दशक देखि पत्रकारिता गर्दै आएकी छन् । त्यस्तै एभिन्युज टेलिभिजन, रेडियो पाल्पा लगायत विभिन्न संचार माध्यममा कार्यरत पत्रकार राना बिगत सात वर्षदेखि पत्रकारिता क्षेत्रमा आबद्ध छन् ।
रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्तराम ठाडा, प्रधानाध्यापक सोमबहादुर सेन, शिक्षक अभिभावक संघका अध्यक्ष टेकबहादुर क्षेत्री, शिक्षक रामबहादुर राना लगायतले पत्रकार द्धय रेग्मी र रानालाई सम्मान गरे ।
रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले सम्मानित पत्रकार रेग्मी र रानालाई बधाई दिदै पत्रकारिताको माध्यमबाट पत्रकारले कलम चलाएर समाज रुपान्तरणमा ठुलो भूमिका खेल्ने बताइन् ।








