
माघ २८,२०७७ काठमाडौं : पश्चिमी वायुको प्रभावले २४ घण्टा भित्र देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ। हिजो बेलुकादेखि देशको पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस प्रणालीको प्रभावले वर्षाको सम्भावना भने कमै रहेको मौसमविद् निराजन सापकोटाले बताए। उक्त प्रणालीमा जलवाष्पयुक्त हावा कम भएकाले वर्षा हुने सम्भावना कम रहेको हो उनले भने,हिउँद याममा १४ मिलिलिटर वर्षा हुनुपर्नेमा हालसम्म १।३ मिलिलिटर मात्र वर्षा भएको छ।
गत बिहिबारदेखि शनिबारसम्म प्रभाव रहेको पश्चिमी वायु त्यति शक्तिशाली नभएकाले कमजोर किसिमको मौसमी प्रणाली आज साँझबाटै हट्ने महाशाखाका वरिष्ठ मौसमविद् सापकोटाले बताए ।

मौसमविद्का अनुसार अझै केही दिन ठूलो वर्षाको सम्भावना रहेको छैन् । सो प्रणालीको प्रभाव साँझापखबाट हटेर जाने विभागले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भू–भागमा बिहानपख हुस्सु,कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ।
हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेश नं १ तथा वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागमा थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू–भागका हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। राजधानी काठमाडौंको उत्तरी क्षेत्रमा साँझपख हल्का वर्षाको सम्भावना रहेको मौसमविद सापकोटाले बताए।






