धुर्कोटमा प्लाष्टिक माला प्रतिवन्ध,स्थानीय सरकारको गतिलो अभ्यास

0
343
गंगा खड्का

गुल्मी : जिल्लाको धुर्कोट गाउँपालिकाले यसपालीको तिहारमा बजारको माला प्रतिवन्ध गर्ने निर्णय गरेको छ । फूलको मालालाइ प्रवद्र्धन गर्ने उद्देश्यले बजारका रेडिमेट प्लाष्टिकका मालालाइ प्रयोगमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले शुक्रवार सार्वजनिक सूचना नै जारी गरी गाउँबासीलाइ साथ दिन आग्रह गरेको छ ।

फूलकै माला प्रयोग गर्न धुर्कोट गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचना ।

पछिल्लो समय सयपत्री, थुंगे लगाएतका गाउँमै पाइने मालाको प्रयोगमा कमी हुँदै गएको बताउँदै गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले यसवर्षदेखि बजारको मालामा रोक गरिएको बताए । ‘फूलका माला वातावरणमैत्री हुन्छन्’,उनले भने,‘यसको प्रयोगमा सवैले साथ दिनुपर्छ ।’ गाउँबासीलाइ तिहार आउनु पूर्व नै यसबारे सचेत गराइएको उनले बताए ।

दाजुभाइलाइ टिका लगाइदिन गाउँपालिकादेखि बाहिर रहेका दिदिवहिनीलाइ समेत फूलका माला पहिराउन उनले आग्रह समेत गरे । गाउँपालिका क्षेत्रमा रहेका पसलहरुमा बजारको माला प्रयोग भए नभएको बारे अनुगमन गर्ने र भेटिएमा जफत गर्ने उनले जानकारी गराए । गत साउन महिनामै स्थानीय आमा समूह र महिला समूहलाइ पुष्पखेती गर्न लगाइएकाले फूलको अभाव नहुने समेत पोखरेलको भनाइ छ । गाउँमा पुष्पखेती गर्नेहरु समेत विगत वर्षदेखि बढ्दै गएको उनले बताए ।

परम्परागत रुपमा फूलका माला लगाउने धार्मिक संस्कार रहँदै आएपनि बजारका रेडिमेट प्याष्टिकका मालाले वातावरणलाइ समेत असर गर्दै आएको छ । गाउँपालिकाले यसवर्षदेखि व्यवसायिक पुष्पखेती गर्ने किसानहरुलाइ प्रोत्साहन गर्दै जाने पोखरेलले जानकारी गराए । किसानको आय आर्जनमा यसले टेवा पु¥याउने उनको विश्वास छ । ‘गरे के संभव हुँदैन’,पोखरेलले भने,‘गाउँबासीले साथ दिएपछि यसैवर्षदेखि नै बजारका माला पूर्ण रुपमा प्रतिवन्ध हुन्छ ।’ स्थानीय सरकारले स्थानीय उत्पादनलाइ नै प्रवद्र्धन गर्ने नीति अघि सारेको गाउँपालिकाले जनाएको छ । जिल्लाका अन्य स्थानीय तहले समेत फूलको मालालाई प्रवद्र्धन गर्ने नीति ल्याउनुपर्ने पोखरेलको आग्रह छ । जिल्लाभर नै यस्ता कामको थालनी एकैसाथ हुनसके जिल्लाको अर्थतन्त्रमा समेत टुवा पुग्न सक्दछ ।

SHARE