
तिलाचन पाण्डे
पुस १४,२०७७ गुल्मी : जिल्लाको छत्रकोट गाउँपालिकाले कृषकहरुलाई पेन्सनको ब्यबस्था गरेको छ ।
छत्रकोट गाउँपालिकालाई कृषि र पशुपालनमा आत्म निर्भर बनाई गरिबी न्यूनीकरण गर्नका लागि सहयोग पुग्ने भन्दै यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले जानकारी दिए ।
गाउँपालिकाको नवौँ गाउँसभाबाट पालिका भित्र ब्यबसायीक रुपमा कृषि र पशुपालन गर्ने कृषकहरुलाई पेन्सन अर्थात प्रोत्साहन भत्ता दिने गरी कार्यबिधि पारित गरिएको छ ।
तीन प्रकारका परिचयपत्र
गाउँपालिकाले कृषक पेन्सन अर्थात प्रोत्साहन भत्ता पाउँने कृषकलाई तीन बर्गमा बिभाजन गरेको छ । (क) बर्गको किसानलाई हरियो , (ख) बर्गको किसानलाई निलो र (ग) बर्गको किसानलाई पहेंलो परिचयपत्रको ब्यबस्था गरेको भण्डारीले जानकारी दिए । किसानहरुको अहिले बिबरण संकलनको कार्य भइरहेको भन्दै बिबरण संकलन पश्चात पेन्सन अर्थात प्रोत्साहन रकम तोकिने गाउँपालिकाले जनाएको छ ।
पेन्सन पाउँने कृषकहरुका लागि गाउँपालिकाले तयार गरेको कार्यबिधि अनुसार काम गरेको हुनुपर्ने छ । कार्यबिधिमा कृषि तर्फका लागि निश्चित रोपनी, फलफूलका लागि निश्चित बोट र पशुपंक्षी तर्फ पनि संख्या तोकीएको छ । सोही आधारमा कृषकहरुलाई क देखि ग सम्म तीन प्रकारको परिचयपत्र प्रदान गरिने छ ।
कार्यबिधि अनुसार गाउँपालिकाका अध्यक्ष संयोजक रहेको पाँच सदस्यीय पेन्सन छनोट समिति र उपाध्यक्ष संयोजक रहेको चार सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।






