नेकपा औपचारिक रुपमै विभाजन हुने

0
430

पुस ७,२०७७ काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का दुवै समूहले आज केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।

प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्षले बिहान ९ बजे बालुवाटारमा बैठक बोलाएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल समूहले दिउँसो १ बजे बैठक कार्की बेङ्क्वेटमा बैठक बोलाएको छ।

आजको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने प्रचण्ड–नेपाल पक्षले जनाएको छ। यसअघि आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गर्दै यसलाई केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओलीनिकट कार्यालय सचिव ईश्वरी रिजालले नेताहरूलाई बालुवाटार केन्द्रीय कमिटी बैठकमा सहभागी हुन सूचित गरेका छन्। प्रचण्ड निकट कार्यालय सचिव श्रीराम ढकालले दिउँसो १ बजे कार्की बेङ्क्वेटमा बैठक हुने सूचना जारी गरेका छन्।

बहुमत पक्षले गरेको कारवाही अस्वीकार गरेको ओली पक्षले प्रचण्डलाई कारवाहीको तयारी गरेको छ । ओली पक्षको केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई अनुशासनहीन काम गरेको, आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्रीविरुद्ध विपक्षीसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्न खोजेको, पार्टी एकता विपरीत गतिविधि गरेको लगायतका आरोप लगाउँदै अध्यक्ष पदबाट हटाउने तयारी गरेको छ ।

बैठकले अन्य केही नेतालाई पनि कारबाही गरेर निर्वाचन आयोगलाई जानकारी गराउने पनि तयारी छ। पार्टी एकता टुंगिन नपाउँदै प्रचण्डले एकता भंग गरेको अभियोगसहित निर्वाचन आयोगलाई जानकारी गराउने र सके नेकपानै आफ्नो बनाउने नभए एमाले ब्यूँताउने प्रयासमा ओली पक्ष लागेको छ। यी सबै घट्नाक्रमले मंगलबार नेकपा औपचारिक रुपमै विभाजन हुनेछ।

SHARE