
पुस,२,२०७७ गुल्मी : कृषकहरुको बालीनालीमा देखिने रोग र समस्याहरुलाई समाधान गर्नका लागि गुल्मीदरबार गाउँपालिकाले कृषकसंग कृषि प्राबिधिक कार्यक्रम संचालनमा ल्याएको छ । पहिलो चौमासिकमा १२६ जना कृषकहरुका समस्याहरुलाई फिल्डमै गई प्राबिधिकहरुले निराकरण गरेको गाउँपालिकाले जनाएको छ ।
पालिकाका महत्वपुर्ण सूचना नागरिकको मोवाइलमा
यस्तै गुल्मीदरबार गाउँपालिकाले पालिका भित्रका नागरिकहरुसंग सम्बन्धित सूचनाहरु नागरिकहरुको मोवाइलमा एसएमएस मार्फत पठाउने ब्यबस्था गरेको छ । यस आर्थिक बर्षको प्रथम चौमासिकमा ८ हजार ५६ जनाको मोवाइलमा एसएमएस पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
जनतासंग गाउँपालिका रेडियो कार्यक्रम
गाउँपालिकाले नागरिकहरुका गुनासाहरु सुन्न र र गाउँपालिकाले गरेका कार्यहरुको बारेमा जानकारी दिन जनतासंग गुल्मीदरबार गाउँपालिका रेडियो कार्यक्रम संचालन गर्ने भएको छ ।
गाउँपालिकाको कार्यशैली प्रति जनताका गुनासहरु सुन्नका लागि र समस्या समाधान गर्नका लागि रेडियो कार्यक्रम संचालन गर्न लागेको पाण्डेले जानकारी दिए ।
गाउँपालिकाले पुस १ गतेदेखि करिब तीन सय योजनाहरु वडा वडामै गएर उपभोत्ताहरुसंग सम्झौता गरिरहेको छ ।






