महासंघले तीन ठूला सञ्चार गृहमा धर्ना दिने

0
389

कात्तिक २०,२०७७ काठमाडौं : नेपाल पत्रकार महासंघले यही कात्तिक २६ गते तीन वटा सञ्चार गृहमा कालो ब्यानर टाँसेर धर्ना दिने भएको छ।

कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्कासित पत्रकारहरुको स(सम्मान पुनर्बहाली, यसबीचको तलब(भत्ता दिन, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा(सुविधासहित बक्यौता चुक्ता गर्न पनि महासंघले भनेको छ।

त्यसैगरी नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा(सुविधा उपलब्ध गराउन पाँच दिने अल्टिमेटम दिँदै महासंघले ती सञ्चार गृहमा पत्र पठाएको छ।

अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्यूज नेटवर्क इन्टरनेसनल प्रालि, कारोबार दैनिकको प्रकाशन गृह टीबीआई पब्लिकेसन्स प्रालि र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसन्स प्रालिलाई पटक(पटक लिखित र मौखिक पत्र तथा वार्ताबाट महासंघले गरेको आग्रह अनुसार अझै समस्या नसुल्झाएकाले पाँच दिनको अल्टिमेटम दिइएको हो।

महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको निर्णय बमोजिम पत्राचार गरिएको हो।

पाँच दिनभित्र सम्वद्ध सञ्चार गृहको व्यवस्थापनले आन्तरिक रुपमै समस्या सम्बोधन गरी महासंघलाई आन्दोलन जानबाट रोक्ने विश्वासका साथ पत्राचार गरिएको महासंघका सचिव रामप्रसाद दाहालले बताए।

SHARE