बागलुङ बजारमा एक साता लकडाउन

0
259

कात्तिक १८,२०७७ बागलुङ : जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार रातीदेखि आगामी कात्तिक २४ गते रातको १२ बजेसम्मका लागि बागलुङ बजार लकडाउन गर्न आदेश जारी गरेको छ।

सोमबार भएको सर्वपक्षीय बैठक, जिल्ला सुरक्षा बैठकको निर्णय तथा बागलुङ नगरपालिका र उद्योग बाणिज्य संघको सिफारिस तथा अनुरोधमा लकडाउन गर्ने आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको सुरक्षा निकाय, राजनीतिक दल, व्यवसायी, जनप्रतिनिधिको बैठकले गरेको निर्णयपछि सुरक्षा समितिले पनि निर्णय गरेको थियो।

लकडाउनका बेला अत्यावस्यक बाहेकका पसल, व्यवसाय, शैक्षिक संस्था, सवारी साधनसमेत बन्द गराउने निर्णय गरेको प्रजिअ सुरेश न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ। प्रशासनले संक्रामक रोग ऐन, २०२० को दफा २ अनुसार बानपा वडा नं। १, २, ३ र ४ को क्षेत्रमा लकडाउन गराउने निर्णय गरेको हो।

लकडाउनको समयमा एम्बुलेन्स, अत्यावस्यक ढुवानी, दूध र फलफूलका सवारीलाई चल्न दिइनेछ। त्यस्तै प्रेस पास भएका सवारी र औषधिजन्य वस्तुको ढुवानी पनि चल्नेछन्।

तर, बजार क्षेत्रमा अधिकांश पसल बन्द रहने छन्। दैनिक उपभोग्य वस्तु खरिदका लागि बिहान ७ देखि ९ बजेको समय तोकिएको छ। यो समयमा सबैले सामान खरिद गरिसक्नु पर्नेछ।

बैठकले संचालनमा रहेको कक्षा ११ र १२ को परीक्षा स्वास्थ्य मापदण्ड पालना गरेर संचालन गर्न अनुमति दिने निर्णय गरेको छ। मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरमा संचालन हुने सवारी साधनले चढाउने र ओराल्ने नगरी यातायात संचालन गर्न दिने निर्णयसमेत भएको हो।

SHARE