सुशीला रेग्मी
कात्तिक १२,२०७७ : हिन्दु धर्मावलम्वीहरुको ठुलो पर्वका रुपमा विजया दशमीलाई लिइन्छ । दुर्गाभवानीको प्रसाद स्वरुप मान्यजनका हातबाट रातो टिका र जमरा लगाएर धुमधामका साथ मनाइने विजयादशमी पर्व अहिले कोरोनाको कहरका कारण भने गाउँघरमा सुनसान छाएको छ ।
घटस्थापना सुरु भएपछि दशै पर्वको छुट्टै गाउँघरमा रौनकता हुन्थ्यो । रोजगारको शिलशिलामा या अध्ययन तथा विभिन्न कामको शिलशिलामा देश तथा विदेशमा रहेका नेपालीहरु गाउँ फर्कदा घरपरिवार तथा गाउँघर, आफन्तमा एक किसिमको खुशीयाली उमंग छाउँथ्यो ।
तर यस पटक भने बाहिर रहेका नेपाली गाउँ नफर्कनु, गाउँमै भएका नागरिक पनि एक अर्काबीच संगै रहेर खुशीयाली साट्न नपाउँदा गाउँघर सुनसान जस्तै बनेको छ । विश्वलाई नै आतङ्कीत बनाएको कोरोना भाइरस सङ्क्रमणले माहामारी रुप लिदै गएपछि दशैको उत्साह र रमाईलोपनले कमैलाई मात्र छोएको छ ।
कोरोनाको जोखिम शहर बजार देखि गाउँघरमा पनि बढ्दै गएका कारणले यस पटक आफ्नो पुर्खौली थलोमा टिका थाप्न नजाने निर्णय गरेको पाल्पा रामपुर नगरपालिका स्थायी घर भई हाल काठमाण्डौँमा बसोबास गर्नुहुने शालिकराम कंडेल बताउनुहुन्छ ।
“अरु समय त कामको चापले गर्दा गाउँघर जान भ्याइदैनथ्यो तर वर्षको एक पटक दशैको बेला हरेक वर्ष मान्यजनाको हातबाट टिका थाप्न घर पुगिन्थ्यो, तर यस पटक कोरोनाको कारण जन्मथलोमा टिका थाप्न नजाने निर्णय गरेको छुँ, फोन ईमेल ईन्टरनेटबाट मान्यजन संग आशिर्वाद लिने बस्ने” उहाँले भन्नुभयो ।
समुदाय स्तरमा कोरोनाको जोखिम दिन प्रतिदिन बढेका कारण बाहिर भएका नेपालीहरु प्नि गाउँ फर्कन त्रासमा छन् भने गाउँमा बसेका परिवार, आफन्त, छिमेकी पनि बाहिरबाट गाउँ भित्रने नगारिक संग त्रसित बनेका छन् ।
दशै पर्वलाई लक्षित गरी गाउँघरका सडक सरसफाई गर्ने कार्य पनि यसवर्ष खासै देखिएन । दशैको टिका थाप्न घरबाहेक अन्यत्र आफन्तकहाँ आवतजावत नगर्ने, घरभित्रै बसेर परिवार संग सिमित रहेर मात्र दशै मनाउने तयारी गरेको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ,“घरबाट बाहिर निस्कने परिस्थिती छैन, गाउँघरमा पनि दशैको बिगतका वर्षमा जस्तो उमंग र रौनकता देखिदैन, यस पटकलाई कोरोनाको कहरले गर्दा घरभित्रका परिवार बीच मात्र सहभागी भएर दशै मनाउनेछौँ” ।
अघिल्ला वर्षमा दशैमा आफन्त, साथीभाई बीच जम्मा भएर रमाईलोका लागि तास खेल्ने, पिङ खेल्ने, घुमफिर गरेर रमाईलो गर्नेको गाउँघरमा निकै उमंग रहन्थ्यो । ग्रामीण भेगका पर्यटकिय क्षेत्रमा दशैको बेला घुमफिर गर्ने आन्तरिक पर्यटकको भरिभराउँ रहन्थ्यो ।
चाडपर्वलाई लक्षित गरी नयाँ लक्ताकपडा किन्ने, ठुलो खर्च गरेर विभिन्न सामान किनमेल गर्ने क्रम पनि यो वर्ष बजारमा खासै देखिएन । बिगतका वर्षमा बजारमा नयाँ कपडा किन्ने, गरगहना किन्ने, घरायसी सजावटका लागि नयाँ नयाँ सामान किनमेल गर्नेको निकै भिड हुन्थ्यो । कोरोनाको कारणले गर्दा बिगतका वर्षको तुलनामा यस वर्ष दशैको बेलामा निकै कम व्यापार भएको रामपुर बेझाडका व्यापारी बैकुण्ठ अधिकारीले बताउनुभयो ।
भगवान रामचन्द्रले बनबासका बेला दुर्गा स्वरुपा महामायाको नौ दिनसम्म पूजा आराधना गरेपछि महामाया देवीको कृपाले नवमीको रातमा ‘भोलीको दिन मेरो प्रसाद स्वरुप टिका जमरा लगाई रावणसंग युद्ध लडेमा विजयी हुन्छौ’ भनेर आशिर्वाद दिनुभएको थियो ।
आश्विन शुक्ल दशमीका दिन घडाको जलको अभिशेक लिई दुर्गा भवानीको प्रसाद स्वरुप टिका जमरा लगाई भगवान रामले रावणमाथि विजयी प्राप्त गरेका थिए । त्यहि दिनदेखि विजया दशमीका नामले विजया दशमीको दिन सवैले चामलमा दहि र रातो रंग मिसाएर बनाईएको टिका जमरा लगाउने र मान्यजनबाट आशिर्वाद लिएर दशै मनाउने चलन छ ।
पर्यटकिय स्थल सुनसान
दर्श पर्वका बेला आन्तरिक पर्यटकले खचाखच रहने पाल्पाका विभिन्न पर्यटकिय स्थल सुनसानमय बनेका छन् । एक सय पर्यटकिय गन्तव्यस्थलका रुपमा छनौटमा पर्न सफल रामपुरको पर्यटकिय तालपोखरा गतवर्ष पर्यटकको ठुलो भिड लागेपनि अहिले भने सुनसान छ । कोरोनाको विषम परिस्थितीलाई मध्यनजर गर्दै चैत देखी तालपोखरामा डुङ्गा बन्द गरिएपछि आवतजावत नै बन्द छ । रामपुरकै भुजात सिद्धबाबा, राम्चे भ्युटावर, ज्याग्दी वन, रानीवन तथा बडवान सामुदायिक वन, सीताकुण्ड, रामघाट लगायतका क्षेत्र आन्तरिक पर्यटकको पखाईमा छन् । पाल्पाका ऐतिहासिक तथा धार्मिक पर्यटकिय स्थलमा खासै चहलपहल देखिदैन ।
शक्तिपिठमा छैन चहलपहल
नवदुर्गाका समय विभिन्न शक्तिपिठमा पुजाआजा गर्नेको निकै घुईचो लाग्थ्यो । बली चढाउने, पुजाआजा गर्नेको भीडले दर्शनार्थीलाई पुजा गर्न निकै सास्ती हुन्थ्यो । अहिले भने कोरोनाको कहरलाई मध्यनजर गदै शक्तिपिठहरुमा पुजाआजा गर्नेको चहलपहल भने देखिदैन । दशैका बेला शक्तिपिठमा राँगा, बोका, परेवा, हाँस, कुखुरा लगायतका विभिन्न जनावरको बली दिनेको ठुलो तामझाम रहन्थ्यो । गाउँमा अहिले बली दिएर तामझाम गरेर भोज भतेर गरेको पनि देखिदैन ।
लोप भयो परम्परागत चर्खे पिङ
गाउँघरमा दशैतिहार जस्ता पर्वमा परम्परा देखि नै चलनचल्तिमा आएको चर्खे पिङ लोप हुदै गएको छ । गाउँमा दशै पर्व सुरु हुनु एक महिना अघिदेखि चर्खे पिङ बनाउनेको निकै उत्साह हुन्थ्यो । अहिले भने परम्परागत चर्खे पिङ बनाउने र खेल्नेको उत्साह नहुदा संस्कृती नै हराउदै गएको हो ।
झण्डै दुई दशक अघि गाउँ गाउँमा अनिवार्यजसो चर्खे पिङ बनाइने गरेतापनि अहिले पिङको नाम मात्र लिनु परेको बुढापाका बताउँछन् । चार देखि आठ जना सम्म बस्न मिल्ने खालको काठैकाठले बनेको यस पिङ खेल्दा निकै आनन्द लाग्ने गरेको रामपुरका मित्रलाल ढकाल बताउनुहुन्छ ।
उहाँले आफुले जानेबुझे देखि नै गाउँका साथीभाई जम्मा भएर जंगलमा काठ काटेर चर्खे पिङ बनाउँदा निकै रमाइलो भएको आफ्नो अनुभव सुनाउँदै अहिले भने गाउँघर कतैपनि देख्न पनि नपाएकोमा गुनासो गर्नुहुन्छ ।
चर्खे पिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यक पर्ने हुदा पनि अहिले यहाँबाट हट्दै गएको हो । एक पटकमा धेरै जना सम्म खेल्न सकिने हुदा पिङ खेल्दा निकै रमाइलोपन सिर्जना हुने गरेको रामबहादुर सोमैले बताउनुभयो । पहिला पहिला चर्खे पिङ नराखे सम्म गाउँघरमा दशै पर्वको रौनक नै नहुने सोमै बताउनुहुन्छ ।
कतिपय स्थानमा भने काठको अभावमा चर्खे पिङ राख्न छाडिएको स्थानीयवासीको भनाई छ । हिजोआज वनमा काठ दाउरा काट्न नपाइने नियम लगाएपछि काठको अभावले गर्दा चर्खे पिङ राख्न छाडेको उनीहरुले बताए ।
पूर्वी पाल्पाका अर्चले, मित्याल, सहलकोट, झिरुवास, बाकामलाङ्ग, गल्धा लगायतका स्थानमा टाढा टाढाबाट दशैका बेला चर्खे पिङ खेल्न आउनेको घुइँचो रहने गथ्र्यो तर अहिले पिङ राख्ने चलन हट्दै जादा गाउँ नै सुनसान बनेको निस्दी गाउँपालिका १ बाकामलाङ्गका स्थानीय चिन्तामणी पाण्डेयले बताउनुभयो ।
गाउँघरमा चर्खे पिङ मात्र होइन लिङे पिङ पनि कमै मात्रामा देख्न पाइन्छ । केहीले जसोतसो संस्कृती जोगाउन फ्याट्टफुट्ट लिङे पिङ राख्ने गरेको पाइएपनि पहिले जस्तो गाउँघरमा पिङ राख्ने र खेल्नेको यस पटक भने त्यती रौनक छैन ।
युवा जनशक्ति विदेश पलायन हुनु, बाह्य संस्कृतीको प्रभाव गाउँघरमा पर्न थालेपछि यतिबेला दशै पर्वले ढपक्कै छोएपनि गाउँघरमा पिङ राख्ने र खेल्नेको उत्साह देखिदैन । अर्कोतर्फ कोरोनाको माहामारीले पिङ राख्ने र खेल्ने कार्यमा पनि स्थानीयको सहभागीता देखिदैन ।
आजभोली युवापुस्ताले पनि त्यती पिङप्रति चासो दिदैनन् । साना साना बच्चाहरुका लागि बजारमा आएका प्लाष्ट्रिकको डोरी बाँधेर घर घरमा पिङ राख्ने चलन भने बढ्न थालेको छ । तर बाबियो काटेर पिङ बाट्ने चलन पछिल्लो समय रामपुर क्षेत्रमा बिस्तरै कम हुदै गएको छ ।
गाउँघरमा चनचल्तिमा आएको चर्के पिङ, लिङे पिङ र घुमाउने पिङ खेलेर मज्जा लिदै आफन्त, साथीभाई भेटघाट हुने र शुभकामना आदानप्रदान गर्ने चलन रहेको थियो । कामको व्यस्तता, बाह्य संस्कृतीको प्रभाव, पिङप्रतिको मोह कम हुदै जादा अहिले गाउँघरबाट परम्परागत हाम्रा चाडपर्व झल्किने खालका संस्कृती लोप हुदै गएका छन् ।