असार २३, २०७७ म्याग्दी : अविरल वर्षाका कारण पहिरो गएपछि हिमाली जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम र मालढुङ्गा–बेनी सडक अवरुद्ध भएका छन्।
गण्डकी प्रदेशको ‘लाइफलाइन’मानिएको बेनी–जोमसोम–कोरला सडक खण्ड ठाउँठाउँमा अवरुद्ध भएको छ। सोमबार रातिदेखिको अविरल वर्षाका कारण उत्तरी म्याग्दी हुँदै मुस्ताङ जोड्ने सडक खण्डको अन्नपूर्ण गाउँपालिका २ तातोपानीको नागढुंगा, दानाको ढुवारी खोला, गुइँठे र हिस्तानको महभीरमा सडक अवरुद्ध भएको म्याग्दी प्रहरीले जनाएको छ।
लगातार वर्षा, भिरालो जमिन र कमजोर भूबनोटका कारण सडक माथिबाट ढुंगामाटो सहितको लेदो पहिरो खस्दा सडक अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए। सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको छ। वर्षा नरोकिएसम्म अवरुद्ध सडक संचालन गर्न नसकिने शेरचन बताउँछन्।
मुस्ताङलाई राष्टिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्ड अन्तर्गत सवैभन्दा जोखिमपूर्ण म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्मको भागलाई मानिएको छ। वर्षाको समयमा यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्नु पर्ने बध्यता रहेको छ।