गुल्मीमा गठबन्धनका उम्मेवारहरुद्वारा चुनावी प्रतिवद्धता सार्वजनिक

0
127

हुमाकान्त पोखरेल

असोज २५,२०७९ गुल्मीः गुल्मीमा सत्तारुढ पाँचदलीय गठबन्धनका उम्मेदवारहरुले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । काँग्रेस पार्टी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारहरुले आ–आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले गठबन्धनको विजयपश्चात जिल्लामा विकासको गति परिवर्तन गर्ने बताइन् । ‘अहिले जति पनि काम भएका छन्, सबैजसो सुस्त गतिमा छन् ।’ उनले भनिन्, ‘निर्वाचनपश्चात हामीले जिल्लाको मुहार फेरिने गरी विकासका काम गर्छौ ।’

पूर्व मन्त्री झाँक्रीले विकास गर्नका लागि नेतृत्व परिवर्तन गर्न आवश्यक रहेकोले गठबन्धनको तर्फबाट आफ्नो उम्मेदवारी रहेको प्रतिक्रिया दिइन् । गठबन्धनकै तर्फबाट क्षेत्र नम्बर १ का उम्मेदवार काँग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका डाक्टर चन्द्र भण्डारीले गुल्मीलाई नमुना जिल्ला बनाउनको लागि संयुक्त गठबन्धन बनाएको बताए ।

‘पहाडी जिल्ला पनि विकासका दृष्टिकोणले नमुना बन्न सक्छ भन्ने उदाहरण देखाउनु छ ।’ नेता भण्डारीले भने, ‘त्यसका लागि गठबन्धनको जित आवश्यक छ ।’ आफ्नो अघिल्लो कार्यकालमा जिल्लामा विभिन्न स्थानमा सडक, पुल लगायतका योजना सुरु गरेको तर अपुरै रहेकोले उक्त योजनाहरुलाई पुरा गर्न आफुले उम्मेदवारी दिएको बताए ।

निर्वाचन क्षेत्र नम्बर १ ‘क’ का उम्मेदवार सुदर्शन बरालले प्रदेश सरकार स्थिर तरिकाले संचालनका लागि बाम लोकतान्त्रीक गठबन्धन बनाएर निर्वाचनमा होमिएको बताए । माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका बरालले विगतमा नेकपा सरकार हुँदा केही प्रतिगामी तत्वले संसद नै विघटन गरेर समृद्धिको सपनामाथि कुठाराघात गरेको आरोप लगाए ।

क्षेत्र नम्बर २ ‘क’ का उम्मेदवार एवम् नेपाली काँग्रेस लुम्बिनी प्रदेश उप–सभापति भुवन प्रसाद श्रेष्ठले जिल्लामा थुप्रै विकासका काम अलपत्र परेको बताए । ‘सिमटलटारीसम्म पुग्ने सडकमा अहिलेसम्म पुल छैन ।’ उनले भने, ‘पटक–पटक असफल भइसकेका व्यक्तिबाट समृद्धिको कुनै आशा छैन ।’ त्यस्तै क्षेत्र नम्बर २ ‘ख’ का उम्मेदवार बुद्धि जिसीले आफ्नो क्षेत्रबाट ०७४ मा निर्वाचित सासंदले पाँच बर्षे कार्यकाल समेत पुरा नगरी मतदातामाथि विश्वासघात गरेकोले आफुबाट त्यो गल्ति नहुने बताए ।

‘विगतमा संचालन गरिएका थुप्रै योजना अधुरै हुँदा प्रतिवद्धा समेत पुरा हुन पाएनन् ।’ उनले भने, ‘यसपटकको निर्वाचनपश्चात गठबन्धनको तर्फबाट गरिएका सबै प्रतिवद्धताहरु पुरा हुन्छन् ।’

SHARE