बीमाको पहुँच दुर्गम क्षेत्रमा पुर्याउन आवस्यक छ : अर्थमन्त्री शर्मा

0
147

भदौ १७,२०७९ सुर्खेत :अर्थमन्त्री जनार्दन शर्माले बीमाको पहुँच दुर्गम क्षेत्रमा पुर्याउन आबस्यक रहेको बताउनुभएको छ । सुर्खेतमा बीमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्ने क्रममा अर्थमन्त्री शर्माले दूरदराजसम्म बीमाको पहुँच पुर्याउन बिमा समितिलाई निर्देशन दिनुभयो ।

कर्णालीका अधिकांश नागरिक बिमाको पहुँच बाहिर रहेको भन्दै उहाँले बीमाको सेवा विस्तार गर्न आग्रह गर्नुभयो । नयाँ विधेयकमा सरकारले बीमा प्राधिकरण, बीमा प्रतिष्ठान, बिमा सूचना केन्द्रजस्ता संरचनाको प्रस्ताव गरेको भन्दै उहाँले जनशक्ति व्यवस्थापनका लागि छुट्टै कलेजको आवश्यकता रहेको बताउनुभयो।

बीमा सेवा सहर–बजारमामात्र सीमित नभई गाउँ–गाउँसम्म पुग्नुपर्ने उहाँको भनाइ थियो ।बीमा कम्पनीले समयमा भुक्तानी नदिने, बीमितको दाबी अनुसारको भुक्तानी नपाउने गुनासो आफुले सुनेको भन्दै उहाँले बीमालाई थप विश्वसनीय वातावरणका साथ सेवा विस्तारमा ध्यान दिन निर्देशन दिनुभयो ।

लघुवित्त मार्फत सहुलियतपूर्ण ऋणलाई जनताको खेतबारीसम्म पुर्याउने लक्ष्य सरकारले लिएको भन्दै मन्त्रि शर्माले बीमा कम्पनीहरू त्यहाँसम्म पुग्नुपर्ने बताउनुभयो । बीमा समितिले बीमा व्यवसायको समग्र नियमन, बीमितहरूको सुरक्षा, बीमा साक्षरता, बीमक बीमितका समस्या समाधान गर्न उहाँले आग्रह गर्नुभयो।

SHARE