कालीगण्डकीमा कार्यसम्पादनमा एकरुपता ल्याउन जनप्रतिनिधि र कर्मचारीहरुबीच समन्वय बैठक

0
289
कालीगण्डकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीहरुबीच समन्वय बैठकको तस्विर : तिलाचन पाण्डे

साउन गुल्मीः जनप्रतिनिधि र कर्मचारीहरुबीच तालमेल नभएका कारण धेरै ठाउँहरुमा समस्या आइरहेका छन् ।

कहीँ कतै राजनीतिक समस्या आउने गरेका छन् भने कतै जनप्रतिधिहरुले काममा दबाब दिने गरेको सुन्नमा आउने गरेका छन् । तर गुल्मीको कालीगण्डकी गाउँपालिकाले काममा एकरुपता कायम गर्नका लागि जनप्रतिनिधि र कर्मचारीबीच समन्वय बैठक गरेको छ ।

नयाँ जनप्रतिनिधि र कर्मचारीहरुबीच कार्यसम्पादनमा केही समस्या आउन सक्ने भन्दै आर्थिक वर्षको सुरुमै समन्वय बैठकको आयोजना गरिएको कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिनुभयो ।

जनप्रतिनिधि र कर्मचारीहरु बीचको समन्वय बैठकले कार्यसम्पादनमा सहजता आउने , सबैको बुझाइमा एकरुपता आउने भन्दै बैठक प्रभावकारी भएको पल्लीको दाबी छ ।

जिम्मेवारी पूरा गर्न नसके मार्ग प्रशस्त गर्नुपर्दछ

वडा नम्वर तीनका वडा अध्यक्ष रुकबहादुर श्रीसले कार्यसम्पादनमा आउने गरेका समस्याहरुलाई जनप्रतिनिधि र कर्मचारीहरु बीच अनुभव आदान प्रदान गर्दा बीचमा देखिएको दुरीलाई कम गर्न सहज हुने धारण राख्नुभयो ।

कर्मचारीहरुले आफनो जिम्मेवारीलाई पूरा गर्नु पर्ने भन्दै जिम्मेवारी पूरा गर्न नसके मार्ग प्रशस्त गर्नुपर्ने उहाँको भनाई छ ।

वडा नम्वर ७ का वडा अध्यक्ष घनश्याम थापाले जनप्रतिनिधिहरुले नीति निर्माण गर्ने र त्यसको कार्यन्वयन कर्मचारीहरुले गर्ने भएकाले कर्मचारी र जनप्रतिनिधिहरु बीच नङ र मासुको जस्तो सम्बन्ध रहने बताउनुभयो । आफुहरु भन्दा पनि स्थायीत्व सरकार कर्मचारी नै भएको उहाँको दाबी छ ।
गाउँपालिकाको बेरुजुको सन्र्दभमा उहाँले बेरुजु कम गर्नका लागि सबै एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कर्मचारी बिदामा बस्दा जनप्रतिनिधिलाई जानकारी हुनुपर्छ की पर्दैन ?

वडा नम्वर एकका वडा अध्यक्ष लालुप्रसाद पाण्डेले कर्मचारीहरु बिदामा बस्दा आफूलाई जानकारी नहुने गरेको भन्दै वडाका कर्मचारी कस्को मातहतमा रहने भन्दै प्रश्न गर्नुभयो । कर्मचारीहरु बिदामा बस्दा वडा अध्यक्षलाई जानकारी नहुने र करारका कर्मचारीहरुले वडामा हाजिर हुन पनि अटेर गर्ने गरेको उहाँको दाबी छ ।
यता प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले कर्मचारीहरुको बिदा आफूले स्विकृत गर्ने भएपनि वडाका जनप्रतिनिधिहरुलाई जानकारी हुनुपर्ने र सोही अनुसार काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
समन्वय बैठककले कर्मचारी र जनप्रतिनिधिहरु बीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापा र उपाध्यक्ष मञ्जु दर्लामीले दाबी गर्नुभयो ।

यस्तै कार्यक्रमलाई आगामी दिनहरुमा पनि राख्दै जाने र कार्यसम्पादनमा आएका समस्याहरुलाई समाधान गर्न जनप्रतिनिधि र कर्मचारी बीचका समस्याहरुलाई आदान प्रदान गर्ने गरी योजना बनाउने उहाँहरुको भनाई छ ।

कार्यक्रममा आर्थिक बर्ष २०७८।०७९को शाखागत रुपमा वार्षिक समिक्षा समेत गरिएको थियो । सोही कार्यक्रममा पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सातवटै वडाका जनप्रतिनिधि, कर्मचारीहरु , राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु लगायत पत्रकारको उपस्थिति रहेको थियो ।

SHARE