
साउन १६,२०७९कास्की : पोखरा महानगरपालिका–६, डिहिकोपाटन पँधेरोमा आज बिहान पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको भने एकजना घाइते भएका छन्।
अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।
उनका अनुसार घटनामा घाइते सुनारलाई बिहान उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१, भुर्जुङखोला घर भई सोही घरमा बस्ने सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते भएकी छन्। उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेको बाहिरी चोट नदेखिएको र अवस्था मध्यम रहेको बताइन्छ।
घटनामा सुनिताको छोरी १० वर्षीया सिम्रन सुनार भने सकुशल रहेको तिवारीले जानकारी दिए।






