साउन २,२०७९ गुल्मीः गुल्मीमा ५५ वर्षीय महिलालाई जवरजस्ती करणी गर्न प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर एकका ५९ वर्षीय लक्ष्मण बलामीले सोही स्थानकी ५५ वर्षीय महिलालाई जवरजस्ती करणी गर्ने प्रयास गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधबराज खरेलले जानकारी दिए ।
बलामीले असार ३२ गते साँझ करिब ७ बजेको समयमा जवरजस्ती करणी गर्ने प्रयास गरेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको खरेलले बताए ।
यस्तै असार ३१ गते मदाने गाउँपालिका वडा नम्वर ६ की २५ वर्षीय शान्ता केशीको घरबाट सुनको सिक्री चोरी गर्ने उज्वल केशीलाई प्रहरीले पक्राउ गरेको छ ।
सोही स्थानका २० वर्षीय केशीले १ तोला १० लालको सिक्री चोरी गरेकाले निजलाई इलाका प्रहरी कार्यालय पुर्कोटदह गुल्मीले पक्राउ गरेको हो । केशीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइएको र थप अनुसन्धानको कार्य जारी रहेको खरेलले बताए ।
यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीले रेसुंगा नगरपालिका वडा नम्वर २ की सीता परियारको मोवाइल हराएको र धुर्कोट गाउँपालिका वडा नम्वर ४ चेतनारायण पोखरेलको मोवाइल हराएको प्रहरीमा निवेदन दिएकाले खोजतलास गर्दा फेला परेकाले बुझाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।