पहिरोले करिडोरको मालढुंगा–बेनी सडक अवरुद्ध

0
184
फाइल फोटो

असार २५,२०७९पर्वत : कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगादेखि म्याग्दीको बेनी जोड्ने मालढुंगा–बेनी सडक गएरातिदेखि अवरुद्ध भएको छ।

शुक्रबार साँझदेखि निरन्तर परिरहेको पानीका कारण सडकमाथिको भिरबाट पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको हो। पर्वतको कुश्मा नगरपालिका–१ स्थित मालढुङ्गा नजिकै ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले अवरुद्ध सडक खुलाउन डोजर र ट्रिपर तयारी अवस्थामा राखे पनि वर्षा नरोकिएकाले समस्या भएको जानकारी दिए। वर्षा रोकिएलगत्तै सडक खुलाउन पहल गर्ने उनले बताए।

सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका सवारी साधन खनियाघाटमा अलपत्र परेका छन्। अन्यत्रबाट ती जिल्लाका लागि आएका सवारी साधन मालढुंगामा रोकिएका छन्। कतिपय सवारी बागलुङ हुँदै वैकल्पिक मार्गको प्रयोग गरेर आवतजावत गरेका छन्।

SHARE