सन्तोष महतारा
असार १९,०७९ गुल्मीः गुल्मीमा सामाजिक सद्भाव सहित समतामूलक समाज निर्माण सम्बन्धि जनचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
जिल्लाको गुल्मीदरबार गाउँपालिकाको सहयोगमा नेपाल मगर संघ गुल्मीदरबार गाउँपालिकाको आयोजनामा आइतबार सामाजिक सद्भाव सहित समतामूलक समाज निर्माण सम्बन्धि जनचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
जनचेतना तथा अन्तरक्रिया कार्यक्रममा नेपाल मगर संघ गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष शेर बहादुर सर्तुङ्गीले आफ्नो वार्षिक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार तथा जनजाति महासंघ पाल्पाका अध्यक्ष केयरसिंह रानाले मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिएका थिए । रानाले सामाजिक सद्भावसहितको समतामूलक समाज निर्माणमा मगर मात्रै नभई सबै जातजाति एक भएर लाग्नुपर्ने बताएका छन् । रानाले जातीय हिसाबमा कुनै प्रकारको विभेद हुन नहुने बताए ।
प्रशिक्षकका रुपमा समाजसेवी छन्द बहादुर पहराई मगरले नेतृत्व विकास तथा अनुभव आदानप्रदान सम्बन्धि प्रशिक्षण दिएका छन् । योजनाले मात्र आफ्नो कर्म गन्तव्यमा पुग्ने बताउँदै पहराई मगरले योजनासहित अगाडि बढ्नुपर्ने र दृष्टिकोण स्पष्ट हुनुपर्ने बताए । उनले मानिसहरु सृजनात्मक हुनुपर्ने र एजेन्डासहित अगाडि बढ्नुपर्ने स्पष्ट पारे ।
कार्यक्रममा निकै उत्साहजनक सहभागीता रहेको थियो । मगर समुदायका नागरिकको बाहुल्य उपस्थिति रहेको कार्यक्रममा सहभागीहरुले आदिवासी जनजातिहरुको बारेमा विभिन्न जिज्ञासाहरु राखेका थिए । जिज्ञासाको जवाफ प्रशिक्षकहरुले दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गुल्मीदरबार गाउँपालिकाका उपाध्यक्ष तारा थापाले सबै जातजातिहरुलाई गाउँपालिकाबाट एकनासले ब्यवहार गर्ने बताइन् । गाउँपालिकाले सबै सर्वसाधारणहरुलाई लक्षित गरेर विभिन्न कार्यक्रम गरेकोले सबैको साथमा गाउँपालिका रहेको गाउँपालिका उपाध्यक्ष थापाले बताएकी थिइन् ।
सम्पूर्ण समुदायहरुको भाषा, धर्म, संस्कृतिको संरक्षण गरौं भन्ने मूल नाराका साथ नेपाल मगर संघ गुल्मीदरबार गाउँपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो ।