मुसिकोटमा प्राथमिक उपचारका सामग्रीहरु सहित स्वास्थ्यकर्मी वस्तीवस्तीमा जाने

0
363
नगरप्रमुख खरेल तस्विर :खबरमार्केट

जेठ १२ गते । मुसिकोट नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जिवन खरेलले वस्ती वस्तीमा स्वास्थ्यका सामग्रीहरु सहित स्वास्थ्यकर्मीहरु जाने बताउनुभएको छ ।

गाउँका वस्ती वस्तीहरुमा स्वास्थ्यको पहुँच पुर्याउनु स्थानीय सरकारको जिम्मेवारी भएको भन्दै प्राथामिक उपचारका सामग्रीहरु लिएर स्वास्थ्यकर्मीहरु गाउँका वस्ती वस्तीहरुमा पुग्ने गरी आफुले कामको थालनी गरेको बताउनुभएको छ ।

पदभार ग्रहण पश्चात पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा उहाँले यहाँका नागरिकहरुलाई सामान्य चोटपटक लाग्दा आवश्यक पर्ने प्राथामिक स्वास्थ्य सामग्रीहरु लिएर स्वास्थ्यकर्मीहरु पठाउने तयारी भइरहेको बताउनुभयो ।
सीप मुलक शिक्षा आवश्यक
यस्तै शिक्षामा सानै उमेरदेखी सीपमुलक ज्ञान प्रदान गर्नका लागि स्थानीय पाठय्क्रम बनाएर अगाडी बढ्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।
अहिलेका बिद्याथीहरुलाई घोकन्ते शिक्षा भन्दा पनि ब्यबहारीक शिक्षाको आवश्यकता रहेको भन्दै स्थानीय पाठ्यक्रम निर्माण गरी सीपमुलक शिक्षा प्रदान गर्नुको बिकल्प नभएको उहाँको भनाई छ ।

यस्तै नगरमा रहेका अधुरा अपुरा कार्यहरुलाई पूरा गर्दै खेतीयोग्य जमिनमा सिंचाईको ब्यबस्था गरी उत्पादनमा जोड दिने योजना रहेको खरेलले बताउनुभयो ।
ब्यबसायीक रुपमा कृषि र पशुपालन गरी युवाहरुलाई स्वदेशमा नै टिकाई राख्ने र आत्म निर्भर बनाउने गरी नगरपालिका अगाडी बढ्ने योजना पनि उहाँले सुनाउनुभयो । नगरमा युवा उद्यमी सहकारी स्थापना गरी युवाहरुलाई संगठित गर्ने र ब्यबसायीकरणमा जोड दिइने पनि उहाँको योजना छ ।

कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुलाई बजारीकरणको ग्यारेन्टी नगरपालिकाले लिने पनि खरेलले दाबी गर्नुभयो ।

SHARE