
काठमाडौं । पाँच दलीय संयुक्त गठबन्धनका तर्फबाट खानीखोला गाउँपालिका काभ्रेको अध्यक्ष पदमा उम्मेदवारी दिएकाइन्द्रबहादुर थिङ ‘छिन्ताङ’ र उपाध्यक्ष पदका उम्मेदवार दोर्जेमान जिम्बा लोकप्रिय कार्यक्रम समेटिएको प्रतिबद्धतापत्र लिएर घरदैलोमा अभियानमा निस्किएका छन् ।
अध्यक्ष पदका उम्मेदवार छिन्ताङ नेकपा (माओवादी केन्द्र)बागमती प्रदेश समितिका सचिव हुन् भने उपाध्यक्ष पदका उम्मेदवार दोर्जेमान नेपाली कांग्रेस खानीखोलाका सभापति हुन् ।
संयुक्त गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा दर्जनौँ लोकप्रिय कार्यक्रम समावेश छन् । गठबन्धनले खानीखोलालाई कफि पकेट क्षेत्र घोषणा गरी कफीका लागि विशेष अनुदान उपलब्ध गराउने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

खानीखोलाका कृषकबाट उत्पादित कृषिजन्य वस्तुको बजारीकरणगर्ने कार्यलाई सहज बनाउन एक कृषि हाट बजार स्थापना गर्नेदेखि गाउँपालिकाको केन्द्रमा रहेको ‘ताल ढुंगा’लाई व्यवस्थित गरी पर्यटकीय क्षेत्र बनाउनेसम्मको विषय प्रतिबद्धतापत्रमा समोवेश गरिएको छ ।
त्यसैगरी गठबन्धनले प्लस टु उतीर्ण गर्दा सबैभन्दा बढी नम्बर ल्याउनेमधये २ जनालाई स्नातक तहमा प्राविधिक विषय अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै लोकसेवा आयोगका विभिन्न परिक्षासँग सम्बन्धित तयारी कक्षा वर्षमा २ महिना सञ्चालन गर्ने जनाएको छ ।
शिक्षक अभावलाई मध्यनजर गरी ‘स्वयंसेवक शिक्षक’, स्वास्थ्य कर्मचारी अभावलाई मध्यनजर गरी ‘सामुदायिक स्वास्थ्य स्वयंसेवक’ र सञ्चालित सडकका लागि ‘सडक स्वयंसेवक’राख्ने गठबन्धनले प्रतिबद्धतापत्रमार्फत् घोषणा गरेको छ ।
खानीखोलामा एक घर एक धारासहित वडा नम्बर ४ को बाँसघारी र वडा नं. ७ को मिल्चे लगायतका स्थानहरुमा लिफ्टिङ खानेपानी आयोजनामार्फत खानेपानीको अभावालाई पूर्ति गर्ने जनाएको छ ।
गठबन्धनले गाउँपालिकाको केन्द्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्नेदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू गर्ने प्रतिबद्धता पनि जनाएको छ । सहिद परिवारका १ जनालाई अनिवार्य रोजगार र सहिद परिवारलाई मासिक २००० भत्ता उपलब्ध गराउने गठबन्धनले प्रतिबद्धतामार्फत् घोषणा गरेको छ ।
पूरा घोषणापत्र हेर्नुहोस्–
ghosana patra-final-khanikhola






