गाडीको ठक्करबाट हवल्दारको मृत्यु

0
280

वैशाख २०,२०७९धनुषा : धनुषामा गाडीको ठक्करबाट प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु भएको छ।

नम्बर नखुलेको गाडीको ठक्करबाट इलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको हो।

पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केवरचोकमा ड्युटी सकाएर कार्यालयतर्फ पैदल जाँदै गर्दा वरिष्ठ हवल्दार पराजुलीलाई इलाका प्रहरी कार्यालयकै अगाडि नम्बर नखुलेको गाडीले ठक्कर दिएको थियो।

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताए। घटना सोमबार अबेर राति भएको र ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।

सिसी क्यामेरामा ठूलो गाडी ट्रक वा मालवाहक ट्यांकरले ठक्कर दिएको हुन सक्ने प्रहरीको अनुमान छ।

ओखलढुंगाको चिसंखुगढी गाउँपालिका वडा नम्बर ५ स्थायी घर भएका वरिष्ठ हवल्दार पराजुली ३ महिनाअघि इलाका प्रहरी कार्यालय ढल्केवरमा सरुवा भएर आएका थिए।

SHARE