गठबन्धनको नेतृत्वले घोराही नगरको मुहार फेर्छ– माओवादी प्रवक्ता महरा

0
356

गिरिराज नेपाली
घोराही, १४ बैशाख :नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले पाँच दलीय गठबन्धन मुलुकको आवश्यकताले निर्माण गरेको बताउनुभएको छ ।

संयुक्त निर्वाचन परिचालन समिति घोराही उपहानगरपालिकाले बुधवार घोराहीमा आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि महराले प्रतिगमनका बिरुद्ध लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताउनु भयो । गठबन्धनले जनताका आधारभूत आवश्यकता पूरा गर्दै शान्ति प्रक्रियामा अपूरा कामलाई पनि पूरा गर्ने दायित्व बोकेको बताउनुभयो ।

देश अप्ठ्यारोमा परेको बेला जहिले पनि काँग्रेस र माओवादीले निकास दिदै आइरहेको भन्दै महराले देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना पनि काँग्रेस र माओवादीको नेतृत्वबाट सम्भव भएको बताउनु भयो । घोराही नगरको विकास र समृद्धिका लागि गठबन्धनको नेतृत्वको जरुरी रहेको भन्दै महराले गठबन्धनले सक्षम र कुशल नेताहरुलाई नगरमा पठाएको बताउनुभयो ।

गठबन्धन पराजय भए मुलुकले नै पराजय व्यहोर्ने भन्दै नेता महराले मुलुकको आगामी भविष्य निर्धारणका लागि गठबन्धनले जित्नुपर्ने बताउनु भयो । प्रतिगमनकारीहरु जनताको अधिकारमाथि कू गरी मुलुकलाई अन्योल र अस्थिरतातर्फ लैजान खोजेकाले प्रतिगमनकारीहरु विरुद्ध सशक्त भई प्रतिकार गर्नुपर्ने बेला आइसकेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले गठबन्धनमा आबद्ध दलहरुबीच सिद्धान्त फरक भए पनि राष्ट्रियताको सवाल समान रहेकाले प्रतिगमनकारी शक्तिलाई हराउन र गठबन्धनका उम्मेद्वारहरु जिताउनु पर्नेमा जोड दिनुभयो । प्रतिगमनकारीबाट मुलुकलाई जोगाउन सत्तारुढ गठबन्धनले स्थानीय सरकारदेखि केन्द्रसम्म प्रतिगामी शक्तिबाहेकको सरकार बनाउनु पर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाली काँग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक अनिता देवकोटाले गठबन्धनको जीत नै मुलुकको जीत भएको बताउनु भयो । मुलुकलाई भविष्यको यात्रा तय गर्ने साझा संकल्पका साथ गठबन्धन उभिएको भन्दै देवकोटाले गठबन्धनकारी शक्तिका बीचमा भावनात्मक एकताको आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य निर्मल आचार्यले गठबन्धन माथि कुनै शंका नगरी वडादेखि उपहानगरसम्म बिजयी बनाउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

गठबन्धनको तर्फबाट घोराही उपमहानगरको मेयरका उम्मेदवार माओवादी नेता हेमराज शर्मा पोख्रेल (डायमण्ड) ले आम नागरिकको जीवन र अवस्था बदल्न आफूहरु प्रतिबद्ध भएर काम गर्ने बताउनु भयो ।

शर्माले विकासमा समान वितरण गर्ने र पछि परेका वर्ग, क्षेत्र, समुदाय र भूगोललाई प्राथमिकता दिने बताउनु भयो । कृषि क्षेत्रमा विशेष प्राथमिकता दिने, विपन्न वर्ग, समुदाय र क्षेत्रको अवस्थामा परिवर्तन ल्याउने र सहरी क्षेत्रको उचित व्यवस्थापनमा पनि विशेष जोड दिइने शर्माले बताउनु भयो ।

गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार काँग्रेसका नेता भुपबहादुर डाँगीले घोराहीमा समृद्धिको लहर ल्याउने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस नेता कमलकिशोर घिमिरे, भरत न्यौपाने, क्षेत्रीय सभापति भीमप्रकाश खड्का र राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले बोल्नुभएको थियो । काँग्रेस घोराही उपहानगर सभापति तिलक रावतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेकपा माओवादी केन्द्र घोराही नगर सचिव साकार चौधरीले गर्नुभएको थियो ।

SHARE