एक चिकित्सकको भरमा पचास शैयाको रामपुर अस्पताल

0
323

सुशीला रेग्मी
रामपुर (पाल्पा), ७ वैशाख :रामपुर अस्पतालमा बिरामीको चाप अहिले बढ्दो छ । गर्मीयाम भएकाले पनि यहाँ सेवा लिन आउनेको संख्या दिनानुदिन बढीरहेको पाइएको छ । पचास शैयाको अस्पताल एक चिकित्सकको भरमा भन्दा पत्यार नलाग्न पनि सक्छ ।

यतिबेला जनशक्ति अभावमा एक चिकित्सकको भरमा अस्पतालले सेवा दिइरहेको छ । यहाँ कार्यरत छ जना मेडिकल अधिकृत तहका चिकित्सकले एकै पटक अस्पतालको सेवाको जिम्मेवारी छाडेर अन्यत्र गएपछि निमिक्त मेडिकल सुपरिण्टेडेण्ट डा. विजय परियारको भरमा उपचार सेवा चलिरहेको छ ।

“जनशक्ति अभावमा म एक्लै २४ सैँ घण्टा बिरामीको सेवामा खटिनु परेको छ, बिरामीको चाप बढ्दो छ, गर्मी समय भएकाले ज्वरो, झाडापखाला, श्वासप्रशास, दुर्घटना, गर्भवति महिला, फिजियोथेरापी लगायतका बिरामी बढी आउने गरेका छन्, दिनरात नभनिकन सेवामा तल्लिन छु” डा. परियारले भन्नुभयो ।

यहाँ एक हप्ताको अवधीमा मात्रै १५ जना झाडापखालाकै बिरामीलाई भर्ना गरेर राख्नु परेको छ । अस्पतालमा कार्यरत स्थायी दरबन्दीका मेडिकल अधिकृतहरु डा. कपिल खनाल, डा. कुशल खनाल, डा. विकास शर्माले अध्ययन विदा देखाउँदै वैशाख १ गते देखि लागू हुने गरी पत्र बुझाएको अस्पतालले जनाएको छ ।

डाक्टर परियार भन्नुहुन्छ, “अस्पतालमा गत चैत २९ गते तीन स्थायी दरबन्दीका चिकित्सकले अध्ययन विदा पत्र र तीन जना करार सेवाका डाक्टरको राजिनामा पत्र आएको छ, तर प्रशासनले भने स्थायी सेवाका डाक्टरलाई स्वीकृत गरेको छैन, सो पत्र माथिल्लो निकायमा पठाइएको छ, अहिलेसम्म सम्बन्धित निकायको राजिनामा स्वीकृती पत्र हामीलाई पनि प्राप्त भएको छैन, एकै पटक स्थायी दरबन्दीमा कार्यरत डाक्टरको राजिनामाले अस्पतालको सेवा प्रवाहमा समस्या पारेको छ” ।

करारमा कार्यरत तीन जना मेडिकल अधिकृतहरु डा. साकार ढकाल, मोहम्मद सर्फराज आलम र डा. आयुष पौडेल राजिनमा पत्र बुझाएर वैशाख १ गते देखि अनुपस्थित छन् । हल अस्पतालमा ३०० बढी बिरामी उपचारमा आउने गरेका छन् भने आकस्मिक सेवामा ५० भन्दा बढी नै छन् । एक डाक्टरले बिरामीको उपचारमा खटिनु पर्दा प्रशासनिक काममा समय दिन नपाएको डा. परियार बताउनुहुन्छ ।

रामपुर अस्पताल चार जिल्लाका नागरिकले स्वास्थ्योपचार सेवा लिने थलो हो । कालीगण्डकीवेशीका पाल्पा, स्याङ्गजा, तनहुँ र सुस्ता पूर्व नवलपरासी (नवलपुर) का नागरिकले यस अस्पतालबाट सेवा लिदै आएका छन् । तर जनशक्ति अभावमा एक चिकित्सकले मात्रै २४ सैँ घण्टा सेवा दिनुपर्ने बाध्यता छ ।

जनशक्ति अभाव रहेपनि यहाँ रहेका स्वास्थ्यकर्मीहरु २४ सैँ घण्टा बिरामीको सेवामा तल्लिन छन् । अस्पतालमा भर्ना भएर बस्दा राम्रो स्वाथ्योपचार सेवा पाएको रामपुर नगरपालिका बाङ्गेपसल बस्ने ७४ वर्षीय कृष्णमाया श्रेष्ठ बताउनुहुन्छ ।

“अस्पतालमा काम गर्ने डाक्टरले छोडेर गए भन्ने सुनेको छु, तर पनि यहाँ खट्नुभएका डाक्टरले रातदिन सेवा दिइरहनुभएको छ, श्वासप्रश्वास सम्बन्धी समस्या भएर भर्ना भएर बसेको छु, जनशक्ति नहुदा पनि हामीले अहिलेसम्म सेवा राम्रै पाइएको छ” उहाँले भन्नुभयो ।

तत्कालका लागि चार जना मेडिकल अधिकृत तहका चिकित्सकको व्यवस्थापन भएमा यहाँबाट दिने सेवा दुःखले भएपनि यथावत दिन सकिनेछ । निर्वाचन आचारसंहिता लागू भइसकेको हुदा पनि मुख्यमन्त्री कार्यालयबाट सहमती नभइकन कर्मचारी व्यवस्थापन गर्न समस्या छ ।

कर्मचारी व्यवस्थापनका लागि प्रदेश सरकार, मन्त्रालय, निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय पाल्पामा पत्राचार गरिसकिएको र अहिलेसम्म वैकल्पिक व्यवस्थापनको विषयमा कुनै जानकारी नआएको अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकाल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “करारमा कर्मचारी नियुक्ति गरेर भएपनि जनतालाई सेवा दिनुपर्छ भनेर हामी लागि परिरहेका छौँ, निर्वाचन आचारसंहित लागू भइसकेकाले बाधा पु¥याउँछ कि भन्ने छ, स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा सम्बन्धित निकायले वैकल्पिक व्यवस्थापनको लागि बिशेष ध्यान दिनुपर्नेछ” ।
सरकारले चिकित्सकलाई अध्ययन विदा दिदै गर्दा उसले कार्यरत संस्थामा वैकल्पिक व्यवस्था नगरिकन विदामा बस्ने परिपाटीले नागरिकले सास्ती खेप्नु परिरहेको छ । यस्ता उदाहरणहरु दुर्गमका धेरै स्वास्थ्य संस्थामा भेटिन्छन् ।
स्थायी दरबन्दीमा कार्यरत कर्मचारीले आफूले पाउने अध्ययन विदा आवश्यक परेपनि सम्बन्धित निकायले स्वीकृत बिना संस्थालाई बाधा पर्ने गरी विदामा बस्न पाइदैन । स्थायी जागिरे भएको दुई वर्षको समयावधि पश्चात् दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले अध्ययन विदा पाउने व्यवस्था छ । त्यसकारण पनि यहाँको अस्पतालमा दुई वर्ष कार्यरत पश्चात् माथिल्लो तहको अध्ययनका लागि भन्दै चिकित्सकहरु अध्ययन विदामा जाने गरेका छन् ।

यस अस्पतालमा हाल नौ जना स्थायी सहित जम्मा ७० जना कर्मचारी कार्यरत छन् । स्थायी अन्तर्गत प्रशासनिक क्षेत्रमा प्रमुख एक जना, सहायक एक, चार जना मेडिकल अधिकृत, एक नर्सिङ कर्मचारी, लेखापाल एक, मेडिकल अधिकृत रेकर्डस् एक जना कर्मचारी छन् । बाँकी कर्मचारी करार प्रकृतिका छन् ।

मेडिकल सुपरिण्टेडेण्ट डाक्टर बिनेश झा बिगत दुई वर्ष देखि यहीँ अस्पताल मातहत तलव सुबिधा लिने गरी अध्ययन विदामा हुनुहुन्छ । यहाँको अस्पतालमा आउने चिकित्सक अध्ययन विदा देखाउँदै जाने गरेका छन् । यो समस्या नागरिकले वर्षौदेखि खेप्दै आइरहेका छन् ।

जनशक्ति अभावकै कारण शल्यक्रिया मार्फत प्रसुती सेवा पनि ठप्प छ । शल्यक्रियाका लागि सम्पूर्ण उपकरण भएपनि प्रयोगमा ल्याउन सकिएको छैन । यहाँ पाउने सेवा उपलब्ध नहुदा सदरमुकाम तानसेन, पोखरा, बुटवल लगायतका विभिन्न बजारका अस्पतालमा बिरामी जानुपर्ने समस्या छ ।
अस्पतालमा नौ जना बिशेषज्ञ डाक्टरको दरबन्दी छ । प्रसुती, बच्चाबच्चीको उपचार सेवा, रेडियोलोजिष्ट (एक्सरे), जनरल फिजिसियन, एनसथेसियालोजिष्ट (अप्रेसन गर्दा बेहोस बनाउने), कन्सल्टटेन अर्थोसर्जन, कन्सल्टटेन सर्जन, कन्सल्टटेन साइक्याट्रिक्स (दिमाग सम्बन्धी) जस्ता बिशेषज्ञ सेवा तोकिएको छ । तर दरबन्दी अनुसारका डाक्टरको अभावमा बिशेषज्ञ सेवा दिन सकिएको छैन ।

अस्पतालमा एघारौँ तह (एक जना प्रमुख मेडिकल सुपरीटेण्डेन) डाक्टरको दरबन्दी छ । पचास शैयाको सरकारी अस्पताल नामाकरण भएपनि पन्ध्र शैयाकै भवनबाट सेवा प्रवाह भइरहेको छ । गाउँमै दरबन्दी भएर पनि सेवा सुबिधा नपाउँदा पटक पटक अन्यत्र धेरै धनराशी खर्चिएर उपचार गर्न जानुपर्ने समस्या बिद्यमान नै छ ।
पचास शैयाकै भवनबाट अस्पताल सञ्चालन भएपछि नागरिकलाई एक त सेवा लिन सजिलो पर्नेछ भने अर्कोतर्फ आर्थिक भार पनि पर्ने थिएन । रामपुर नगरपालिका क्षेत्रमा सुबिधा सम्पन्न भवन निर्माण सम्पन्न भएपछि नागरिकले औषधी उपचारमा राम्रो सुबिधा उपभोग गर्न पाउनेछन् ।
औषधी उपचारका निम्ति विभिन्न शहरमा धाउने नागरिकले अस्पताल बनेपछि गाउँमै धेरै सेवा सुबिधा पाउने अपेक्षा पनि लिएका छन् । विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो । सेवाको क्षेत्रलाई विस्तार गरी ०६७ मा पन्ध्र शैयामा स्तरोन्नति भई सेवा दिदै आएको यस अस्पताल ०७२ मा पचास शैयाका रुपमा स्तरोन्नति भई हाल अस्पतालका रुपमा सञ्चालन हुदै आएको छ ।

नेपाल सरकारको रु २२ करोड २२ लाख पाँच हजार ३८३ को अनुमानित लागतमा टेन्डर आह्वान भएकोमा रबिना कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग करिव रु साढे १८ करोडको लागतमा सम्झौता भई सो भवन निर्माण भइरहेको छ ।
आर्थिक वर्ष ०७२÷०७३ को पुसबाट निर्माण कार्य सुरु गरिएको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । विसं २०७५÷०७÷१६ गते नयाँ भवन निर्माणको काम सम्पन्न गर्ने अन्तिम मिति रहेपनि समयमा नै निर्माणको कार्य सम्पन्न हुन नसकेपछि पटक पटक म्याद थप गरी निर्माण कार्य अघि बढाइएको छ । भवन अभाव पनि स्वास्थ्य सेवाको बाधक बनेको छ ।

SHARE