निजामती संगठनद्वारा नयाँ वर्षको क्यालेण्डर प्रकाशित, मन्त्री भुसालद्वारा सार्वजनिक

0
445

काठमाडौं, ३० चैत : माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीद्वारा नयाँ वर्ष २०७९ को क्यालेण्डर प्रकाशित गरेको छ ।

नेपाली नयाँ वर्ष २०७९ शुरुवातको पूर्वसन्ध्याको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले क्यालेण्डर सार्वजनिक गर्नुभएको हो ।

क्यालेण्डरमा कर्मचारी संगठनले देशैभर गरेका गतिविधिहरु समेटिएका छन् भने वर्षभरीका मुख्य मुख्य पर्वहरु, सरकारी विदा, जनयुद्धसँग सम्बन्धित पर्व र दिवसहरु र महत्वपूर्ण घटनाक्रमहरुसमेत उल्लेख गरिएको छ ।

कार्यक्रममा मन्त्री भुसालले कर्मचारी वर्गले नेपालको समग्र परिवर्तनलाई संस्थागत गर्ने क्रममा महत्वपूर्ण भुमिका खेल्न सक्ने बताउनु भयो । मन्त्री भुसालले आगामी स्थानीय निर्वाचन क्रान्तिकारी र प्रतिक्रान्तिकारी शक्तिबीचको लडाई भएकोले यसमा क्रान्तिकारी शक्ति र माओवादीले जित्नुपर्ने बताउनुभयो ।

संगठनका अध्यक्ष हरि रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस सेन्टर नेपालका इन्चार्ज तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य महेश्वर दाहाल, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, कर्मचारी महासंघका नेताहरु मणिरत्न श्रेष्ठ र मोहनमान स्वाँरलगायतको सहभागिता रहेको थियो ।

SHARE