बर्दघाट नगरपालिकामा अख्तियारको छापा, जनप्रतिनिधि र कर्मचारीमा खैलाबैला

0
367

फागुन १६,२०७८ नवलपरासी : बर्दघाट नगरपालिकाले संचालन गरेका विभिन्न योजनाहरुमा आर्थिक अनियमिताका उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले अनुसनधानलाई तिब्रता दिएको छ ।

अख्तियार समय समयमा नगरपालिकाहरुलाई पत्र काटेर उजुरी संग सम्बन्धीत कागजात सहित आवश्यक जवाफ माग्ने गरेको छ । पछिल्लो समय अख्तियारबाट आउने पत्रको जवाफ लेख्न र मागिएका कागजात जुटाउन कर्मचारीहरुलाई भ्याई नभ्याई हुनेगरेको नगरपालिका भित्र कार्यरत कर्मचारीहरुनै बताउँछन् ।

केही समय यता आयोगको बुटवल कार्यालयबाट पटक पटक नगरपालिकमा छापामार्ने काम हुन थालेपछि जनप्रतिनिधि र कर्मचारीबृत्तमा ठुलै हलचल पैदा भएको श्रोत बताउँछ ।

नगरमा संचालित विभिन्न योजनाहरु संगै नगरपालिका मार्फतनै संचालित योजनाहरुमा अनियमिता भएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरिरहेको छ । मंगलबार अकस्मात रुपमा आयोगबो बुटवल कार्यालयबाट गएको टोलीले वडा नम्बर ७ मा रहेको बेलहानी खानेपानी आयोजनाको कार्यालयमा छापामारेको थियो ।

बुधबार आयोगको बुटवल कार्यालयका सुचना अधिकारी समेत रहेका जयराम श्रेष्ठ सहित खटिएको ४ जनाका टोलीले बर्दघाट नगरपालिकामा छापा मारेको थियो । अख्तियारको टोली नगरपालिकाको कार्यालयमा पुुगेर विभिन्न कागजात तथा प्रमाणहरु माग गरेपछि कर्मचारीहरुमा एकखालको भागदौडनै मच्चिएको बताईएको छ ।

बुधबार दिनभर उजरुरी संग सम्बन्धीत विषयका रेकर्ड फाईलहरु हेर्ने देखी लिएर फिल्डमा पुुगेर सोधपुछ गर्ने कार्य भएको थियो । आयोगको टोलीले कवर्डहल निर्माणको तत्कालिन समयमा उपभोक्ता समितिका अध्यक्ष रहेका प्रदीप सुवेदीलाई सोधपुछ गरेको छ ।

कवर्डहल रहेको स्थान देवीनगरका केही स्थानिय संग पनि सोधपुछ गरी कवर्डहल निर्माण भएको जग्गाको विषयमा पनि जानकारी लिएको छ । कवर्डहल चुुईनुका साथै मापदण्ड भन्दा होचो रहेको जानकारहरु बताउँछन् । यस बारेमा जानकारी लिन खोज्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी जयराम श्रेष्ठले अनुसन्धान कार्य जारी रहेकोले तत्काल केही बोल्न नमिल्ने बताए ।

नगरपालिकाले संसारकोटमा निर्माण गरिरहेको भ्युटावर, कोरोना महामारीको समयमा आईसोलेसन बनाउनका लागि निर्माण गरिएको भवन, डम्पिङ्गसाई, निर्माण भैरहेको घण्टाघर, जमुनियामा रहेको पाडाबजार, नगरपालिका परिसरमा लगाएको बाउण्ड्री वाल लगायतमा आर्थिक अनियमिता्ता भएको भन्दै परेको उजुरीका आधारमा आयोगले अनुसन्धान प्रकृयालाई अगाडि बढाएको हो ।

SHARE