सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीलाई जेलमा कोच्नुस : मन्त्री झाँक्री

0
313

सन्तोष महतारा
पुस १६,२०७८ गुल्मी : सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्न आग्रह गरेकी छिन् । गुल्मीका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा शुक्रबार गुल्मीका कार्यालय प्रमुखसँगको छलफलमा मन्त्री झाँक्रीले निर्माण व्यवसायीका कारणले धेरै विकासका योजना अलपत्र परेको भन्दै कार्वाही गर्न आग्रह गरेकी हुन् ।

ुनिर्माण व्यवसायीले सम्झौता अनुसार समयमा काम गर्न नसक्नाले सोचेअनुरुप विकास हुन सकेको छैन ।ु मन्त्री झाँक्रीले भनिन् , ूसम्झौता गरेर काम नगर्ने र काम अलपत्र पारेर भाग्ने निर्माण व्यवसायीलाई समातेर जेलमा कोच्नुस् ।ू उनले आफुलाई केन्द्रित गर्दै मन्त्रीकै आफ्नो मान्छे भएपनि नछाड्न आग्रह गरिन् । गुल्मीमा निर्माण व्यवसायीको लापरबाहीले थुप्रै विकासका योजना अलपत्र परिरहेका छन् ।

कार्यालय प्रमुखसँगको छलफलमा मन्त्री झाँक्रीले सबै सरकारी कार्यालयबाट हुने काम असार केन्द्रित नभएर पहिल्यै विकासको दर एउटै हुनुपर्ने बताइन् । उनले जिल्ला कारागार गुल्मीको अवस्थाबारे आफुलाई जानकारी भएको भन्दै त्यसको भवन निर्माणको प्रक्रिया अगाडि बढाउन आग्रह समेत गरेकी थिइन् ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले मनसुनजन्य विपद्को बिषय जेठ र असारमा सम्झने अवस्था रहेकोले त्यसलाई अन्त्य गरी पहिल्यै तयारी गर्नुपर्ने बताएका थिए । त्यसलाई जवाफ दिदै मन्त्री झाँक्रीले डोजरको प्रयोगले घरघरमा बाटो पुराउँदा विपद् निम्तिएका कारण यसलाई अन्त्य गर्न जरुरी रहेको बताएकी थिइन् ।

फरक प्रसंगमा मन्त्री झाँक्रीले विकास निर्माणका आयोजनाका पूर्व शर्तहरु पूरा हुनु अनिवार्य रहेको छलफलमा बताएकी थिइन् । गुल्मीको सवारीसाधन दुर्घटना सन्दर्भमा सवारीसाधनमा कडाइ , सिट क्षमता र इन्स्योरेन्स सिटअनुसार मात्र यात्रु राख्न आग्रह गरिन् ।

मन्त्री झाँक्रीले उपभोक्ताबाट हुने योजना नियमन गर्न आवश्यक रहेको बताइन् । तल्लो तहबाट हुने भ्रस्टाचार रोक्नका लागि उपभोक्ताबाट हुने योजना अनुगमन र नियमन गर्न आवश्यक रहेको उनले बताएकी थिइन् । मन्त्री झाँक्री अझै केही दिन गुल्मीका विभिन्न कार्यक्रममा सहभागी हुने छिन् ।

SHARE