माओवादी सोच र ब्रान्ड उत्कृष्ट भएको छ : मुख्यमन्त्री केसी

0
186

हुमाकान्त पोखरेल

मंसिर १३,२०७८ गुल्मी :नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सह–इन्चार्ज एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ माओवादी सोच र ब्रान्ड उत्कृष्ट भएको बताएका छन् ।

नेकपा माआवादी केन्द्र धुर्कोट गाउँपालिकाको दोस्रो गाउँ सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै केसीले माओवादीले मात्रै देश विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका हुन् । कम्युनिष्ट पार्टीको नाममा एमालेले नदि किनारमा भोज गरेकोले एमाले लगायतका अन्य पार्टीहरुले माओवादी केन्द्रबाट सकारात्मक कुराहरु सिक्नुपर्ने धारणा राखे ।

रेल, घर–घरमा ग्यास लगायतका सस्ता आश्वासन दिएर केही दलले राजनीति गरेपनि त्यो धेरै समय नटिक्ने मुख्यमन्त्री केसीको भनाई छ । गणतन्त्रको नेता प्रचण्ड र सहकमर्तीकता गिरिप्रसाद कोइराला भएकोले अन्य नेताहरु समयसापेक्ष जन्मिएको उनले बताए । फरक प्रसङ्गमा मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशका १०९ पालिकाहरुमध्ये माओवादी केन्द्रले जितेका स्थानीय तहहरुमा बढी विकास भएकोले अब आउने निर्वाचनमा पनि माओवादी केन्द्रलाई नै विजयी बनाउनुपर्नेमा जोड दिए ।

त्यसका साथै माओवादी केन्द्रले नेतृत्व गरेको धुर्कोट गाउँपालिका पनि विकासका हिसाबले सन्तोषजनक रहेकोले अन्य पालिकाले पनि यस्तै उदाहरणीय कार्य गरेमा नागरिकमा संघीयताप्रतिको विश्वास बढ्ने उनले बताए । कार्यक्रमकै अवसरमा माओवादी आन्दोलनको क्रममा जेल जिवन बिताएका, घाइते, अपाङ्ग, शहिद परिवार लगायतलाई सम्मान गरिएको थियो ।

SHARE