काङ्ग्रेस क्षेत्रीय अधिवेशन सकियो ,क्षेत्र नम्बर १ मा ढकाल र २ मा महत निर्वाचित

0
23

हुमाकान्त पोखरेल
मंसिर७,२०७८गुल्मीः नेपाली काङ्ग्रेसको १४ औँ महाअधिवेशनअन्तरगत गुल्मीमा क्षेत्रीय अधिवेशन सकिएको छ । सोमबारबाट सुरु भएको अधिवेशन मतदान प्रक्रियाबाट मंगलबार सकिएको हो ।
क्षेत्र नम्बर १ मा मतदानमार्फत नेतृत्व टुंगिएको छ भने क्षेत्र नम्बर २ मा सभापति र सह–सचिव सर्वसम्मतमा टुंगिएको छ । पारिश्वर ढकाल सभापतिमा निवार्चित हुनुभएको छ । उहाँले निकटतम प्रतिद्धन्द्धी मुक्ती कँडेललाई ३६२ मत अन्तरले पराजित गर्नुभयो ।
कुल ९३२ मत खसेकोमध्ये ढकालले ६२७ र कँडेलले २६५ मत प्राप्त गर्नुभएको छ । सचिवमा माधवप्रसाद ढकाल र मार्काण्ड भण्डारी निर्वाचित हुनुभएको छ । ढकालले ४६१ एवम् भण्डारीले ४२३ मत प्राप्त गरेको गुल्मी काङ्ग्रेसले जानकारी दिएको छ । सह–सचिवमा ४४९ मतसहित मधुसुदन ज्ञवाली र ३९० मतसहित डिल्लीराज पाण्डे विजयी भएको काङ्ग्रेसले जनाएको छ ।

यसैगरी, क्षेत्र नम्बर २ मा चन्द्रबहादुर महत सर्वसम्मत क्षेत्रीय सभापतिमा चयन हुनुभएको छ । सभापतिका अर्का आकांक्षी धुर्कोट गाउँपालिकाका उपाध्यक्ष समेत रहेका शिव केसी पनि हुनुहुन्थ्यो । तर पार्टी नेतृत्वले महतलाई सर्वसम्मत सभापति बनाएको हो । सचिवमा लालमणि भण्डारी र अनिल बस्नेत निर्वाचित हुनुभएको छ । भण्डारीले चार सय ५८ र बस्नेतले दुई सय ९३ मत प्राप्त गरेका नेपाली कांग्रेस क्षेत्र नं. २ को निर्वाचन समितिका संयोजक अधिवक्ता भीम न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै सहसचिवमा कृष्णप्रसाद पाण्डे र अर्जुन गिरी सर्वसम्मत चयन हुनुभएको छ ।

क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधिको लागि निर्वाचनको मतपरिणम पनि सार्वजनिक गरिएको छ । २४ जना प्रतिनिधिको लागि भएको निर्वाचनमा ४८ जना उम्मेद्धवार थिए । खुल्लातर्फ १० जनाको लागि २० जनाको उम्मेद्धारी परेको थियो । जसमा खिलध्वज पन्थी, चन्द्र केसी, भुवनप्रसाद श्रेष्ठ, छन्तबहादुर पहराई, डा. दामोदर भुसाल, प्रेमनारायण भण्डारी, भगतसिंह खड्का, महेन्द्रप्रसाद भण्डारी, त्रैलोक्यप्रताप सेन र ज्ञानहरि सापकोट निर्वाचित हुनुभएको छ ।

यसैगरी, महिलातर्फ अमृतादेवी कुँवर, कल्पना घिमिरे, विष्णुकुमारी सापकोटा र सुशीला भुसाल निर्वाचित हुनुभएको छ । खस–आर्य पुरुषमा काशीबहादुर बोहरा, कृष्णप्रसाद सापकोट र पदम भट्टराई तथा खस–आर्य महिलातर्फ अनिषा अर्याल, पार्वती कुँवर र हेमन्ता अर्याल निर्वाचित हुनुभएको छ ।
अपांगतर्फ कौरव खत्री, दलित पुरुषबाट रोमबहादुर विश्वकर्मा, जनजाति पुरुषबाट गोपाल थापामगर र जनजाति महिलाबाट हिमकला राना निर्वाचत हुनुभएको छ । अहिले महाअधिवेशन प्रतिनिधिको लागि क्षेत्र नम्बर १ को मतगणना भइरहेको छ । रुरुक्षेत्र गाउँपालिका –१ को रिडीमा भएको निर्वाचनको परिणाम रातिसम्म आउने काङ्ग्रेस नेता ताराप्रसाद भुसालले जानकारी दिनुभयो ।

SHARE