सल्यान बस दुर्घटना : १२ मृतकमध्ये ८ जनाको सनाखत

0
453

कात्तिक २१,२०७८ सल्यान :आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनाका १२ जना मृतकमध्ये ८ जनाको सनाखत भएको छ।

सनाखत भएकाहरू सल्यानको शारदा नगरपालिका(१२ कि हाल दाङको तुलसिपुर उपमहानगरपालिका(६ बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका(२ कि ६१ वर्षीया मिना डाँगी, शारदा नगरपालिका(३ कि ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी(१ काभ्रा की २४ वर्षीया मिना शाही, दाङको बबई गाउँपालिका(४ बुने ६० वर्षीया डुलि रेउले छन्।

यसैगरी दुर्घटनामा दाङको बबई गाउँपालिका(६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायनपुरकी ६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यानको छत्रेश्वरी गाउँपालिका(२ का २९ वर्षीय तिलक ओलीको पनि मृत्यु भएको छ।

सल्यानको जयतपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना भएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक तथा प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार बसमा चालकसहित ३१ जना थिए।

घाइतेको उद्धार गरेर सल्यानको श्रीनगरमा रहेको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ८ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकीको उपचारका क्रममा मृत्यु भएको थियो।

चालक भने फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।

दुर्घटनामा पर्नेमा अधिकांश तिहारको विदा सकेर दाङ र अन्य शहरी क्षेत्रमा फर्कन लागेका रहेको प्रहरीको अनुमान छ।

सल्यानको जयतपानीबाट, दुलधारा, खलंगा हुँदै दाङको तुल्सीपुरतर्फ जाँदै गरेको बस धेरै गति र जीर्ण सडकका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

SHARE