भेरोसेल खोप चीनबाट नेपाल आइपुग्यो

0
301
फाइल फोटो

असार२५,२०७८
काठमाडौं : चीनबाट सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नेपाल फर्किएको छ।​
चालक दलका १२ सदस्यसहित बेइजिङ गएको जहाज बिहान ६ बजेर १६ मिनेटमा त्रिभुवन विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याएको छ। यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो। खोप ल्याउने जिम्मा पाएको निगमले भाडाबापत सरकारसँग प्रतिघन्टा १४ हजार डलर हाराहारीका दरले भाडा लिने छ।

निगमको वाइडबडी विमान यसपछि असार ३१ र साउन ७ मा बाँकी खोप लिन बेइजिङ जाने तालिका छ। चीनबाट ल्याइने भोरोसेल खोपको पहिलो डोज ५५ वर्षमाथिका नागरिकलाई दिइने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा समीरकुमार अधिकारीले चीनबाट ल्याउन लागेको भ्याक्सिन अर्को हप्तादेखि लगाउन शुरु गरिने जानकारी दिए।

नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार डोज खोप आएको छ । आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८ सय ७ जनालाई पहिलो मात्रा लगाइएको छ।

SHARE