महानगरका कर्मचारीको सेवा, शर्त र सुविधा व्यवस्था गर्ने विधेयक स्वीकृत

0
355

फागुन २७,२०७७ काठमाडौं : काठमाडौं महानगरपालिकाले संशोधन सुझावसहित ‘कर्मचारीको सेवा, शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ स्वीकृत गरेको छ। बुधबार राष्ट्रिय सभा गृहमा डाकिएको बैठकले महानगरमा कार्यरत कर्मचारीहरूका लागि बनेको विधेयक स्वीकृत गरेको हो।

विधेयकमा कर्मचारीको नियुक्ति, पदमा रहँदा पालना गर्नुपर्ने आचरण, सेवामा रहँदा वा सेवाबाट अवकाश हुँदाका शर्त तथा सुविधालगायतका व्यवस्था छन्। समूह, सेवा परिवर्तन, पदीय आचरण, कर्मचारीले प्राप्त गर्ने सुविधा, सुरक्षा, पुरस्कार, दण्ड सजाय, पीरमर्का सुनुवाइ र पुनरावेदन लगायत व्यवस्था पनि गरिएको छ।

यो विधेयक फागुन २४ गते बसेको महानगरपालिकाको अधिवेशनको दोस्रो बैठकमा पेश गरिएको थियो। स्वीकृत ऐन बमोजिम महानगरमा अब प्रशासन, प्राविधिक र विविध गरी ३ समूह हुनेछन्। बैठकमा विधायन समितिका सदस्य सचिव वसन्त आचार्यले महानगरको संगठन संरचना सम्बन्धि व्यवस्था र प्रशासन विभागका प्रमुख महेश काफ्लेले दरबन्दी र कार्य विवरण सम्बन्धि व्यवस्था पेश गरेका थिए।

आचार्यका अनुसार पेश भएको व्यवस्थामा १६ वटा विभाग, ३५ वटा महाशाखा र ६९ वटा शाखा हुने प्रस्ताव गरिएको थियो। यसैगरी, २ हजार २७२ जना जनशक्ति रहने दरबन्दी प्रस्ताव गरिएको थियो।

यसअघि २ हजार २५८ जनाको दरबन्दी थियो। वडामा अधिकतम १५ जना र न्यूनतम ९ जना कर्मचारीको दरबन्दी प्रस्ताव थियो। यो ठूलो, मझौला र सानो वडाका आधारमा तय गरिएको हो।

प्रस्तावित विषयमा बैठकमा नगर सभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले यो विधेयक स्वीकृत भएसँगै कर्मचारीहरूले पारदर्शी र निष्पक्ष ढंगले काम गर्नेमा विश्वास रहेको बताइन्‌।

यो ऐनका आधारमा महानगरका १ हजार ५५० कर्मचारीले १ तह माथिल्लो पदमा समायोजन पत्र पाएका छन्।

SHARE