आज बस्ने नेकपा स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता गराउन दबाब दिने

0
287

पुस १,२०७७ काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे छलफल हुनेछ।

यसअघि आइतबार बसेको स्थायी कमिटी बैठक नेता कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको थियो। त्यसपछि दुई अध्यक्षले एकअर्काप्रति आरोप प्रत्यारोपसहित पेश गरेका छुट्टाछुट्टै प्रतिवेदनमा छलफल गर्ने एजेण्डा भएपनि आकस्मिक रुपमा अध्यादेश आएपछि स्थायी कमिटीमा यो विषय प्रमुख बनेको हो।

पार्टी र मन्त्रीपरिषदमा समेत छलफलै नगरी अध्यादेश ल्याएको भन्दै असन्तुष्ट पार्टीका नेताहरुले प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ताका लागि दबाब दिने तयारी गरेका छन्। हिजो अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भेला भएका पाँच जना सचिवालय सदस्यले ओलीलाई अध्यादेश फिर्ताका लागि दबाब दिने निश्कर्ष निकालेका छन्।

SHARE