
मंसिर ४,२०७७
गलकोट : भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन। कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन। त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र सञ्चार क्षेत्र पनि हो।
कोरोना भयावह शुरु भएको केही महिनामै मुलुककै ब्राण्डको रुपमा स्थापित भएका सञ्चारगृहले नै धमाधम प्रकाशन बन्द गर्नेदेखि पत्रकारको बिदाइ गर्ने घटना हेरे सञ्चार र पत्रकारमाथि आएको सङ्कट बुझ्न काफी हुन्छ।
उसो त पत्रकारले हरेक व्यक्ति, क्षेत्र र निकायका समस्या उजागर गर्ने, समाधानका लागि सम्बन्धित पक्षलाई खबरदारी गर्ने र घचघच्याउने दैनिक कर्म गरिरहेका हुन्छन्।

खाली समस्या मात्रै होइन, समाधानसमेत गराउन सक्ने हैसियत भएका देशभरका पत्रकार अहिले भने आफैँ चरम समस्या र सङ्कटमा छन्। समस्या भए पनि खुलेर आफ्ना कुरा व्यक्त गर्न सकिरहेका छैनन्।
कोरोना महामारीका कारण पत्रकार निष्कासन हुनुपरेको, जबर्जस्त बिदाइमा परेर बेरोजगार हुनुपरेको, नियमित तलब नपाएको, कतिपय आधा तलबमा चित्त बुझाउनु परेकोजस्ता दर्जनौँ समस्या पत्रकारले झेलिरहेका छन्।
योसँगै महत्वपूर्ण विषय त पत्रकार सञ्चारकर्मी कोरोना सङ्क्रमणको तीव्र जोखिमका बीच पनि महिनौँदेखि आफ्नो ज्यान जोखिममा राख्दै अग्रमोर्चामा उभिएर नागरिकलाई सही समयमा सही सूचना दिएर सचेत र सुरक्षित बन्ने बनाउने भूमिकामा छन्।
बजार विज्ञापनमा टिकेको नेपाली मिडिया लामो समयको बन्दाबन्दीसँगै थलिएको छ। बागलुङमा कोरोना शुरु भएको गत वर्षको चैतदेखि आधा दर्जन पत्रकार विभिन्न बहानामा जागिरबाट निकालिने र भूमिका खुम्चिनेमा परेका छन्।
यसका साथै नियमित पारिश्रमिक नपाएका र अबको जागिर थप धरापमा भएकाको सङ्ख्या पनि कम छैन। यद्यपि समस्या सङ्कटमा परेका पत्रकारले आजसम्म आधिकारिकरूपमा सम्बन्धित निकायमा कुनै गुनासो उजुरी भने गरेका छैनन्।
अर्काको समस्यामा निरन्तर कलम चलाउँदै आएका पत्रकार आफ्नो समस्यामा मौन बस्न नहुने पत्रकार विजय राना बताउछन्। “राजधानीदेखि जिल्ला तहसम्मै पत्रकारले आफू समस्यामा पर्दा खुलेर समस्या राख्न सकिरहेका छैनन्, मालिकले के भन्लान् भन्दा पनि समाजले के भन्ला भन्ने प्रश्न र संशयबाट डराइरहेको बुझिन्छ”, रानाले भने।
पत्रकारले समेत अहिलेको सङ्कटमा आफूलाई समयानुकूल परिवर्तन गर्न नसक्दा बेरोजगारको अवस्था आउन थालेको पत्रकार प्रकाश बराल बताउछन्। कोरोना समस्या मात्र नभई अवसरका रूपमा समेत आएकाले प्रविधिको उचित प्रयोग गर्न उनको सुझाव छ।
केन्द्रीय, प्रदेश तथा जिल्ला तहका विभिन्न मिडियाले बागलुङका केही पत्रकारलाई पाँच महिनादेखि सम्पर्क नगरेको पत्रकारहरूको अप्रत्यक्ष गुनासो छ।
बागलुङमा कोरोनाका कारण केही पत्रकार सञ्चारकर्मीको समस्याबारे अप्रत्यक्षरूपमा गुनासो सुनिए पनि आधिकारिकरूपमा पत्रकार महासङ्घमा कसैको गुनासो उजुरी नपरेको नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले बताउछन्।
महासङ्घले पत्रकार सञ्चारकर्मीलाई अन्याय या समस्या भएको विषयमा कानूनी प्रक्रिया र सञ्चार गृहलाई जवाफदेही बनाउन आधिकारिकरूपमा आउनुपर्ने शिरिषको भनाइ छ। थाहाबाट






