कात्तिक १८,२०७७ बाग्लुङ : नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बाग्लुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी गर्दै देउसीभैलो नखेल्न भनेको हो।
प्रशासनले सक्रिय संक्रमित बढी भएर समुदायमा फैलिएको केही वडामा लकडाउन गर्ने, तिहारका अवसरमा खेलिने देउसीभैलोमा पूर्ण रोक लगाउने तथा अत्यावश्यक काममा बाहेक घरबाहिर नआउन आग्रह गरेको छ।
कोरोना रोकथामका लागि बाग्लुङ नगरपालिका–१, २, ३ र ४ वडा सोमबार मध्यरातदेखि लागू हुने गरी एक साताका लागि बन्द गरिने भएको छ भने देउसीभैलो खेल्दा भिडभाड हुने भएकाले जिल्लाभर देउसीभैलो खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए।