नगरप्रमुख पन्थीद्वारा ट्रसपुलको उद्घाटन

0
477

असार ४,२०७८ गुल्मी: गुल्मीको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिका जोड्ने जाबुने ट्रसपुलको उद्घाटन गर्नुभएको छ । नगरप्रमुख पन्थीले रेसुंगा नगरपालिकाको वडा नम्बर ११ राङबास र गुल्मीबार गाउँपालिका वडा नम्बर ६ जोड्ने बठवाखोलामा निर्मित २४ मिटर लामो ट्रसपुलको उद्घाटन गर्नुभएको हो ।

ट्रसपुलको उद्घाटन गर्दै नगरप्रमुख पन्थीले विकासका काममा कुनै आग्रह–पूर्वाग्रह नराखी काम गर्ने बताउनुभयो । आफुहरु समुन्नत र सुन्दर रेसुंगा नगरपालिका बनाउने अठोटका साथ आएको, उहाँले भन्नुभयो, “रेसुंगा नगरपालिकालाई सम्मुनत बनाउने पहिलो आधार सालझण्डी, पटौटी, दुर्गाफाँट हुँदै तम्घास आउने सडक हो । यो सडकले राङबासलाई पनि छोएको छ । गाडीको लर्को लाउँदै विदेशी थुप्रै पर्यटक यही बाटो हुँदै तम्घास आउँदा राङबासको भविष्य बद्लिनेछ ।”

“राङबास आफैमा भूगोलले भाग्यमानी स्थानमा रहेको,” उहाँले भन्नुभयो, “तत्कालै राङबास देखि सिमिचौरसम्मको सडकलाई स्तारेन्नती गर्ने गरि काम अगाडी बढेको छ ।” विकासका कुनै पनि काममा बजेट अभाव हुन नदिने उहाँको भनाइ रहेको छ । विकासका पूर्वाधार साना भएपनि ठुलो महत्व राख्ने उहाँले बताउनुभयो । ट्रसपुल उद्घाटनको क्रममा उहाँले भन्नुभयो,“पुल सानो भएपछि यातयातलाई सहज बनाउने छ । समुन्नत नगरपालिका बनाउन इट्टाको काम गरेको छ ।”

पुल निर्माणका लागि रेसुंगा नगरपालिका तथा उपभोक्ता समिति बीच सम्झौता भई ०७८ फागुन ६ गते देखि निर्माण कार्य सुरु गरिएको थियो । सम्झौता अनुसार यहि असार १५ गतेसम्म निर्माण कार्यको म्याद रहेको छ । म्याद अघि नै निर्माण कार्य सम्पन्न गरिएसंगै नगरप्रमुख पन्थीले उद्घाटन गर्नुभएको हो । ट्रसपुल रु २४ लाख ८२ हजार ९ सय ९२ रुपैयाँ लागतमा सम्पन्न भएको हो ।

यो पुल निर्माण भएसंगै त्यस क्षेत्रका १३५ घरधुरी लाभाविंत भएका उपभोक्ता समितिका अध्यक्ष गोपाल नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँ ६७५ कुल जनसंख्या रहेको छ । जसमा महिला ३५०, दलित १००, जनजाति २२५ रहेका छन् । पुल निर्माणका लागि सिर्जनशील सामुदायिक विकास केन्द्र तम्घास गुल्मीले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो ।

SHARE