स्थानीय उत्पादनलाई प्राथमिकता

0
317

माधब न्यौपाने
भैरहवा, ६ मंसिर ।
यही मंसिर ३ गतेदेखि भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा स्थानीय उत्पादनलाई बिषेश प्राथमिकता दिइएको छ ।
उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजनामा भैरहवाको अञ्चलपुरमा संचालन भइरहेको महोत्सवमा विषेश गरी स्थानीय उत्पादनका स्टलहरुलाई प्राथमिकता दिँदै स्टल भाडामा समेत विषेश छुटको व्यवस्था रहेको स्टल संयोजक रामचन्द्र रेग्मीले बताए ।
४ सय स्टलहरु दर्ता भएको महोत्सवमा करिब ४० प्रतिशत स्थानीय उत्पादनका स्टलहरु रहेको रेग्मीले बताए । जसमा बिशेष गरी स्थानीय उत्पादन अन्तर्गत कृषिका ६०, घरेलु साना उद्योगका १००, महिला हस्तकला अन्तर्गत ६०, स्थानीय गार्मेन्टका ५० लगायतका स्टलहरु रहेको स्टल संयोजक रेग्मीको भनाइ छ । उनले भने–‘हाम्रो संगठनको उद्देश्य पनि स्थानीय उत्पादनको प्रयोग गर्ने र स्थानीय उत्पादनको प्रबद्र्धन गर्ने नै भएको हुँदा यस किसिमका मेला महोत्सव हरुमा हामीले अन्य समयमा पनि स्थानीय उत्पादनलाई बिषेश प्राथमिकता दिँदै आएका थियौं भने यस महोत्सवमा अझ बढी प्राथमिकता दिँदै स्थानीय उत्पादनका स्टलहरु लाई कतिपय स्टलहरुलाई ४० प्रतिशत छुट दिइएको छ भने कृषिका स्टलहरुलाई त १०० प्रतिशत सम्मपनि छुटको व्यवस्था गरिएको छ ।’
जुनसुकै संस्थाको आयोजनामा महोत्सव संचालन भएपनि भैरहवाको इतिहासमा सबैभन्दा धेरै स्टलहरु यस महोत्सवमा दर्ता भएको समेत उनले बताए ।
विगतका महोत्सव हरुमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने गरेपनि स्थानीय उत्पादनका स्टलहरु त्यती उत्साहजनक रुपमा सहभागि नहुने गरेतापनि यसबर्ष आयोजकको मेहनत र उनीहरुलाई गरिएको छुटका कारण केही मात्रामा सुधार आएको मेला मुल आयोजक समिति संयोजक नारायण प्रसाद भण्डारीले बताए ।
स्थानीय उत्पादनको साथै विशेष गरी पर्यटन प्रबद्र्धनलाई पनि प्राथमिकता दिएर आयोजना गरिएको महोत्सवमा मायाँदेवी मन्दिर आकृतिको पर्यटकीय जोनमा राखिएका १५ वटा पर्यटकीय क्षेत्रहरुले दर्शकको ध्यान केन्द्रीत गरेको भण्डारीले बताए । उनले भने–‘ हामीले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० र प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ लाइ मध्यनजर गर्दै प्रदेश ५ मा भएका मुख्य पर्यटकीय गन्तव्यहरुको चिनारी सहितका तस्बीरहरु प्रदर्शन गर्दा महोत्सवमा आउने दर्शकहरुले ति क्षेत्रमा भ्रमण गर्नको लागि सहज हुने विश्वास सहित हामीले त्यसको व्यवस्थापन गरेका हौं ।’
उक्त मन्दिर भित्र अर्घाखाँचीको सुपादेउराली मन्दिर, गुल्मीको बिचित्र गुफा, चितवनको सौराहा, मुगुको राराताल, मुस्ताङ हिमाल, प्युठानको स्वर्गद्वारी, सगरमाथा हिमाल, देवदहको पाकरी बृक्ष, माछापुच्छ्रे हिमाल, अन्नपुर्ण बेसक्याम्प, रेसुङ्गा, मार्दि हिमाल, पाल्पाको रानीमहल लयागतका पर्यटकीय गन्तव्यहरुको तस्बीरलाई उनीहरुको परिचय सहित सजाएर राखिएको छ ।
उक्त पर्यटकीय जोनमा सेल्फी लिनको लागि दर्शकको घुइचो लाग्ने गरेको छ । २५ करोडको आर्थिक कारोवार तथा ३ लाख दर्शकलाइ मेला अवलोकन गराउने आयोजकको लक्ष्य छ ।

SHARE