एक महिनादेखि विद्युत बिहीन सिर्सेनी

0
59

हुमाकान्त पोखरेल
असोज ७,२०७७ गुल्मी : गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनी विगत एक महिनादेखि विद्युत बिहीन भएको छ ।
सिर्सेनी सेताभिर भएको विद्युत ट्रान्सफर्मरमा भदौ १६ गतेदेखि खराबी आएको थियो । जसले गर्दा त्यसै दिनदेखि सिर्सेनीका विभिन्न गाउँ विद्युतबिहिन बनेका छन् । विद्युत अवरुद्ध भएसँगै सिर्सेनीका सेताभिर, धारपानी, घुर्केछाप, उपल्लापानी, हर्रे लगायतका गाउँका ७० भन्दा बढी परिवार अध्यारोमा बस्न बाध्य भएका छन् ।
जसले गर्दा स्थानीयले मोबाइल चार्ज गर्न, मिल चलाउन, विभिन्न संचार माध्यम सुन्न तथा विद्युतबाट हुने कुनै पनि काम गर्न पाएका छैनन् । ‘पटक–पटक विद्युत प्राधिकरणमा जानकारी गराउदाँ पनि ट्रान्सफर्मर आएन, हामी अध्यारोमै बस्न बाध्य छौ ।’ स्थानीय विरेन्द्र प्रसाद भट्टराइले भने, ‘भोली–भोली भन्दाभन्दै महिना दिन बित्यो, तरपनि हाम्रो समस्या ज्यूँ का त्यूँ छ ।’ त्यसका साथै उनले नयाँ ट्रान्सफर्मर आइ विद्युत सुचारु हुने मितिबारे आफु अनविज्ञ भएको बताए ।
अर्की स्थानीय हुमा भुसालले पनि विद्युत नहुँदा गृहणीलाई धेरै समस्या परेको बताइन् । ‘हामीलाई विद्युतको बढी आवश्यकता बिहान र बेलुका खाना पकाउदा हो ।’ उनले भनिन्, ‘विद्युतको वैकल्पिक उपाय घरमा छैन, अध्यारोमा नै गुजारा चलाएका छौ ।’ विद्युत नहुँदा उनले कोरोना महामारिको समयमा रेडियो तथा समाचार सुन्न नपाएको, मोबाइल जार्च गर्न नपाएको लगायतका धेरै समस्या खेप्नुपरेको गुनासो गरिन् । ‘विद्युत सुचारु हुन्छ भन्न थालेकै धेरै दिन भयो, अझै पनि नयाँ ट्रान्सफर्मर आएको छैन ।’ उनले भनिन्, ‘अझै कहिलेसम्म अध्यारोमै बस्नुपर्ने हो, थाहै छैन ।’ समयमा ट्रान्सफर्मर नबनाएर विद्युत प्राधिकरणले आम नागरिकको दैनिकीमाथि नै लाहावरवाही गरेको भुसालको आरोप छ ।

विद्युत नहुँदा घर गृहणी, विभिन्न पेशा व्यवसाय मात्र होइन, विद्यार्थीहरुलाई पनि मर्का परेको छ । रियाले माध्यमिक विद्यालय कक्षा १० मा पढ्ने हरी भुसालका अनुसार त्यस क्षेत्रका विद्यार्थीहरुले राम्रोसँग अध्ययन गर्न पाएका छैनन् । ‘कोरोना महामारिले गर्दा समयमा विद्यालय सुचारु हुन सकेन्, त्यसकारण पनि कोर्ष पछाडी परेको छ ।’ उनले भने, ‘दिउसो काम गर्नुप¥यो, पढ्ने समय बिहान–साँझमा विद्युत हुँदैन ।’ सेताभिरमा रहेको ट्रान्सफर्मर बिग्रिएदेखि आफुहरुले राम्रोसँग पढ्न पनि नपाएको उनले गुनासो गरे ।

नेपाल विद्युत प्राधिकरण गुल्मीका प्रमुख नारायण अर्यालले अबको केही दिनमै सिर्सेनमा नयाँ ट्रान्सफर्मर जडान गर्ने प्रतिक्रिया दिए । आफुहरुसँग नयाँ ट्रान्सफर्मर नभएको र नयाँ ट्रान्सफर्मर विद्युत क्षेत्रिय कार्यालय, बुटबलबाट ल्याउदाँ ढिलाई भएको अर्यालले बताए । अहिले प्राधिकरणले बुटबलबाट तम्घाससम्म ट्रान्सफर्मर ल्याइसकेको तर बर्षाका कारण जडान गर्न जान नसकेको उनको भनाई छ । तर अब बर्षा रोकिनेबित्तिकै नयाँ ट्रान्सफर्मर जडान गरी विद्युत नियमित गर्ने अर्यालले बताए । सिर्सेनीमा ११ केबिको लाइन प्रशारणमा छ ।

SHARE