चन्द्रकोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको स्वागत तथा विदाई

0
294

भदौ ३०,२०७७ गुल्मी : चन्द्रकोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत तथा बिदाई गरिएको छ ।

चन्द्रकोट गाउँपालिका गुल्मीमा गाउँपालिकाको स्थापनादेखि हालसम्म निरन्तर कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्री कृष्णप्रसाद भण्डारीको विदाई तथा आगामी कार्यकालका लागि शुद्दोधन गाउँपालिका रुपन्देहीबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत श्री अनन्तपाणी मरासिनीको स्वागतार्थ आयोजना गरिएको स्वागत तथा विदाई कार्यक्रम गरिएको छ ।

चन्द्रकोट गाउँकार्यपालिकाको बैठकको विचमा आयोजित उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष द्रोण बहादुर खत्रीले प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले गाउँपालिकालाई अगाडी बढाउने कार्यकालागि जनप्रतिनिधी तथा कर्मचारी बिच समन्वय गर्न महत्वपूर्ण भूमीका निभाउन सफल भएको बताए।
स्थापनादेखि हालसम्म निरन्तर कार्यरत प्रमुख प्रशासकीय अधिकृतको कार्यकालमा चन्द्रकोट गाउँपालिका धेरै कुरामा अग्रणी भएको तथा भ्रष्टाचार तथा शुन्य सहनशीलताको नीति अवलम्बन गर्न उहाँको योगदान बारे चर्चा गर्दै अध्यक्ष खत्रीले भण्डारीको काम प्रतिको मोह, धैर्यता, लगनशीलता तथा बौद्दिकताको प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको शुभकामना ब्याक्त गरे।
सोही क्रममा अध्यक्ष खत्रीले गाउँपालिकामा नयाँ सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीले पनि आफ्नो कार्यकालमा गाउँपालिकालाई थप व्यवस्थित गर्दै गाउँपालिकाको शिर उचो राख्ने कार्यमा अग्रणी रहनुहुनेछ भन्ने शुभकामना व्यक्त गरे।
विदाई भएर जाने प्रमुख प्रशासकीय अधिकृत भण्डारीले आफ्नो कार्यकालमा जनप्रतिनिधी तथा कर्मचारीको सकारात्मक साथ र सहयोगबाट गाउँपालिकालाई यो अवस्थामा पुर्याउन सकिएको भन्दै आगामी दिनमा पनि गाउँपालिकाको भविष्य उज्वल होस् भन्ने अपेक्षा व्यक्त गरे।
कार्यक्रममा बोल्दै स्वागत गरिनुभएका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीले चन्द्रकोट गाउँपालिकाको समग्र जनप्रतिनिधी तथा कर्मचारीहरुबाट सकारात्मक साथ र हौसला पाउने अपेक्षा व्यक्त गर्दै चन्द्रकोटको सुशासन तथा सेवाप्रवाह, जनप्रतिनिधीहरुको सकारात्मक साथ एवं कर्मचारीहरुको एकता देखेर नै आफूले यही गाउँपालिका रोजेको दाबी गरे।


उक्त कार्यक्रममा विदाई हुन लागेका प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कार्यकालमा भएका मुख्य मुख्य कार्य , गाउँ कार्यपालिकाको कार्यालयको स्थापना, संचालनरव्यवस्थापन, स्थानीय तहको निर्वाचन, विभिन्न विकासात्मक कार्यहरु तथा असल अभ्यासहरुको लिखित फेहरीस्त ४४ बुँदे हस्तान्तरण नोट गाउँपालिकामा नयाँ सरुवा भई आउने प्रमुख प्रशासकीय अधिकृतलाई हस्तान्तरण गर्दै सफल तथा सक्षम चन्द्रकोट सधै रहिरहोस् भन्ने अपेक्षा समेत व्यक्त गरे।
कार्यक्रमा नयाँ आउनुभएका प्रमुख प्रशासकीय अधिकृतलाई खादा, माला तथा पुष्पगुच्छा सहित गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष ले स्वागत गरे।
सोही कार्यक्रममा ३ वर्ष ५ महिना भन्दा बढी निरन्तर प्रमुख प्रशासकीय अधिकृतको पदमा काम गर्नुभई हाल प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा हुनुभएका कृष्णप्रसाद भण्डारीलाई प्रशंसापत्र, मायाको चिनो, दोसल्ला तथा पुष्प गुच्छाले विदाई गरे।कार्यक्रममा कर्मचारीको तर्फबाट पनि मायाको चिनो प्रदान गरिएको थियो।
सोही कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधिका अर्याल, ६ नं। वडाका वडा अध्यक्ष गोकर्णप्रसाद शर्मा ८ नं। वडाका वडा अध्यक्ष नन्दराम अर्याल, कार्यपालिका सदस्य रेनुका श्रीस, गाउँसभा सदस्य भानुभक्त सुवेदी तथा डिल्लीराज अर्यालले मनतव्य राखेका थिए।
साथै कर्मचारीहरुको तर्फबाट लक्ष्मी अर्याल, नयन सिंह ठकुरी र बशन्त रिजालले समेत स्वागत तथा विदाई मनतव्य राख्नुभएको थियो। गाउँपालिका अध्यक्ष द्रोण बहादुर खत्रीको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको संचालन गाउँपालिकाका प्रशासन, योजना तथा अनुगमन अधिकृत शिव ज्ञवालीले गरेका थिए।

SHARE